Breaking News
Loading...

म लिबाङ झरेको पनि ८ वर्ष भइसक्यो । यतिका वर्ष बितिसक्दा पनि सहरले मलाई चिन्न सकेको छैन । माध्यमिक तहको पढाइका लागि लिबाङ झरेको थिएँ, अहिले स्नातक तहसम्म पुगको छु । बुवा हुनुहुन्न, आमा बूढी भइसक्नुभएको छ । २ दिदीको विवाह भइसकेको छ । दुई दाजुहरु पनि छुट्टिएर बसे । मैले पढ्नुपर्ने भएको र बूढी आमालाई घरव्यवहार चलाउन गाह्रो हुने भएकोले फेरि जेठा दाजुसँग बस्न पुगें । पढ्न बसेको मान्छे म लिबाङमा अलि व्यस्त छु ।
घरमा कहिलेकाहिं जान्छु । घर जाने मन हुँदाहुँदै पनि जान सक्दैन । बिदाको दिनहरुमा घर जाने सोच्छु तर कामहरु सबै बिदाको दिनमा झन थुपरिने गर्छन् । बाइकमा जाने हो भने लिबाङ जान आधा घण्टा लाग्छ । तर अस्ति दशैंतिहारमा त ८ महिनाको घर गएछु । घरमा गएपछि आमाले एउटै कुराको गुनासो गर्नुहुन्छ, ‘कति पढ्छस्, तेरो दाइहरुले नपढेरै पनि घर चलाएकै छन् । अब बिहे गर । म त डाँडामाथिको जून भइसकें ।’ आमाको सल्लाह छ ‘बुहारीले घर गर्छिन्, तैले जति पढे नि पढ्लास् ।’ तर त्यसो भइदिएन भने ...... ?

सधैं काममा व्यस्त भइने भएको हुँदा घरपरिवार र सबै गाउँका मान्छेहरुले राम्रो कमाइ गरेको छ भनेर सोच्छन् । लिबाङमा सबैले यस्तै सोच्छन् । तर सोचेजस्तो वास्तविकता हुँदैन रहेछ । म यो सहरमा जति रमाउन सकेको छु, कमाउन भने सकेको छैन । काम गर्दागदै कति दिन त भोकै सुतेको छु, यो सहरमा । कहिले ६ महिना कहिले वर्ष दिनको घरभाडा तिर्छु । मेरो घरवेटी राम्रो हुनुहुन्छ । लामो समयपछि दिएपनि धेरै रकम एकैपटक दिनुपर्ने भएकोले जुटाउन धौधौ पर्छ मलाई । मसँग पैसा नभएको बेला साथीभाइले नास्ता खाना जान आग्रह गर्दा पनि जान्न । त्यसैले म कति दिन त नास्तै नखाएर पनि बसें । साहित्य सिर्जना मेरो रुचिको विषय हो । लिबाङ झरेदेखि मात्रै मैले सिर्जना यात्रा थालनी गरेको हुँ । म यतै आएपछि रोल्पा आवाज, रोल्पा समाचारहरु प्रकाशन थालनी गरेका । यी पत्रिकाहरुमा मेरा सिर्जनाहरु नियमित रुपमा छापिन्थें । यिनै पत्रिकाहरुले नै खेमराज थापामगरलाई खेमराज गाउँले बनाएका । अहिले खेमराज थापामगरलाई कसैले चिन्दा पनि चिन्दैनन् । राप्ती साहित्य परिषद्, ललित साहित्य परिषद्मा रही विभिन्न कार्यक्रमहरुमा सहभागि पनि हुन्छु । २०६५ सालमा रेडियो रोल्पा खुल्यो । सुरुदेखि मैले ३ वर्षसम्म रेडियोमै रमाएँ । आफ्नै बाध्यताले गर्दा रेडियो छाडें । त्यसपछिका दिनहरु जिल्ला निर्वाचन कार्यालय, हरप्लेस, महिला तथा बालबालिका कार्यालयमा समय बिताएँ । जलजला पोष्टमा पनि काम गरे केही समय । दुःखसुख जसरी भएपनि पढाइलाई निरन्तरता दिइरहेको छु । बाल्यकालदेखि माध्यमिक तहसम्म मेरो पढाइ राम्रो भए पनि अहिले त्यति छैन । मलाई पढ्ने फुर्सद छैन । मैले गर्ने निश्चित काम छैन, तर यो लिबाङमा मलाई एकछिन पनि फुर्सद छैन । कम्प्युटरमै मेरा सबै दिनहरु बित्छन् । कहिलेकाहिं कम्प्युटर किन सिकें होला भन्ने लाग्छ । तर मेरो संसार कम्प्युटरमै छ । फेसबुकमा ४ हजार जति साथी छन्, ट्वीटरमा २ हजार जति । जिल्लामा भएका विशेष गरी साहित्यिक गतिविधिहरु हजारौं साथीहरुलाई मेल गर्छु । मैले मेल गरेका कुराहरु विभिन्न ब्लग, वेवसाइट तथा फेसबुकका भित्ताहरुमा टाँसिन्छन् । अनि रमाउँछु एक्लै । मैले आफ्नै ब्लगहरु पनि चलाउने गर्छु । 
हरेक दिन नसकिदै भोलिपल्ट गर्नुपर्ने कामको जिम्मेवारी आइहाल्छ । मैले नसक्ने काम कसैले गर्न लगाउँदैनन् । मैले सकेको र भ्याएको सबै कामहरु गरिदिएको छु आजसम्म । मेरो काम देखेर सबै खुसी छन् । उनीहरुको खुसीले मेरो आत्मबल झन बढ्छ । लाग्छ, मैले जानेका र मैले सिकेका सबै काम मैमात्र गरुँ । सबै काम आफ्नो जिम्मेवारी सम्झेर गर्दा सफल भइन्छ भन्ने बुझेको छु । मैले गर्नुपर्ने कामहरु अझ धेरै छन् । भर्खर सुरुवात मात्रै गरेको छु ।
-----------------------------------------------------
२०७० जेठ २२ गतेको जूनकिरी सञ्चार राष्‍ट्रिय साप्‍ताहिकमा प्रकाशित छ । यसको यसलाई यहाँ पाउन सकिन्छ । प्लिज क्लिक