Breaking News
Loading...

Info Post

खेमराज गाउँले


नेपालगञ्जमा झिमझिम पानी परिरहेको थियो । होटल सिद्र्धार्थको हलभित्र बिहान प्रवेश गर्दा धुलैधुलो पसेको थिएँ । निक्लिदा सडक हिलैहिलो भएछ । ४ दिनको नेपालगञ्ज बसाइँ आजै सक्नुछ । आजै ‘नाइट बस’मा रोल्पा फकर्नुछ ।

‘स्वास्थ्य भवन निर्माणको डिजाइन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा सहभागी हुन नेपालगञ्ज गएको थिएँ । क्षेत्रीय स्तरको कार्यक्रम भएकाले मध्यपश्चिमका प्रायः सबै जिल्लाका सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयहरु र जिल्ला स्वास्थ्य कार्यालयको सहभागिता रहेको थियो । ठूलै कार्यक्रम भएर र ठूला मान्छेहरुको सहभागिता भएर होला आफ्नो जिल्लाबाट गएकाहरुबाहेक अरु कसैसँग परिचय भएन् । सबै आआफ्नै काममा, सबै आआफ्नै धुनमा ।

बोलाए बोलिहाल्ने नत्र चिनापरिचयको गर्न नसक्नु मेरो कमजारी पनि हो । ४ दिनसम्म मैले चिनेको नेपालगञ्जलाई हो । त्यसो त नेपालगञ्जसँग मेरो परिचय नयाँ भने होइन । तीन पटक भेटिसकें, नेपालगञ्जलाई मैले । नेपालगञ्जसँग मैले परिचय गर्नु परेन । त्यसैले पनि होला कार्यक्रमको अन्तिम दिन पानी पर्नु परेको । मैले ठानें पानी परेको होइन, यो त नेपालगञ्ज मसँग रोएको हो । छुट्टिनुको पीडा पोखेको हो मसँग । रोल्पा नफर्क भनेर अनुनय विनय गरेको हो मँसग नेपालगञ्जले । तर मलाई भने पटक्कै बस्न मन छैन नेपालगञ्ज । हजारौं गाडीबाट निक्लने धुवा मैले खानुपर्ने, बन्दै गरेको सडकबाट उडेका धुलाहरु मैले खानुपर्ने, अनि बजारका फोहोरहरुबाट आउने गन्ध खानुभन्दा छिट्टै नेपालगञ्ज छाड्ने मन आतुर थियो ।
झरीझरी होटलबाट बाहिरिएँ । गाडीले पुष्पलाल चोकसम्म मात्रै पुर्‍याइदियो । पुष्पलाल चोकबाट बल्लबल्ल बसपार्क गएँ ।

बसपार्क पनि हिलाम्य र दुर्गन्धमय भएको रहेछ । टिकट लिएँ । टिकट सकिएको रहेछ । क्याविनको टिकट काटें । बसपार्क नजिकै म बसेको कोठामा एकछिन् गएँ । त्यहाँबाट पनि बिदा भएर फर्कें ।
पानी परिरहेकै थियो । पानी परेकोले बजार घुम्न पाइएन । बसपार्क आएर टिकटमा लेखिएको नम्बरको बस खोजें । काउन्टरको छेवैमा बस रहेछ । बसभित्र पसें । ड्राइभरले गीत सुन्दै बसिरहेका थिए, आफ्नै सिटमा । उनै छेउमा बसेकी थिइन्, एउटी युवती । म भने क्याविनकै सिटमा गएँ बसें ।

केहीबेरपछि बस रोल्पातिर लाग्यो । बसका ‘सहचालक’ (खलासी) भाइहरुले ती महिलालाई ‘भाउजू’ भनी बोलाउँथे । मैले सोच यी महिला त ड्राइभरकै श्रीमती होलान् । ती भाइहरुले बेलाबेलामा ती युवतीलाई जिस्काउथें । श्रीमान्कै अगाडि किन जिस्काएका होलान्, मनमनै सोच्थें । ती युवती पनि हाँस्थिन् । जवाफ फकाउँथिन् । घरीघरी मोबाइल चलाउँथिन् । हातमा ३ वटा मोबाइल थियो । २ वटा सामान्य र १ वटा स्क्रिन टच । एउटा स्काइको, एउटा फेसबुक चलाउने र अर्को फोन गर्ने मोबाइल होला मैले मनमनै अनुमान गरें ।
कोहलपुर काटेर बस महेन्द्र राजमार्गमा दौडिरहेको थियो । पानी परिरहेको थियो । रात परिसकेको थियो । क्षितिजमा चट्याङ्को उज्यालो देखिन्थ्यो । बसभित्र चर्को चर्को आवाजमा गीत बज्थ्यो । खलासीहरु भाउजूको छेवैमा बसेर निरन्तर ताली बजाइरहेका थिए । भाउजूले पनि ताली बजाएर साथ दिन्थे । देवरहरु र भाउजूले गीतमा स्वर पनि मिलाउँथे । म भने उनीहरुको गीत र ताली मन नलागी नलागी सुनिरहेको थिएँ । नसुनेर के गर्नु ठाउँ फुर्न भएन । फेरर पनि जानु कहाँ ।

लमही र भालुबाङबीचमा खाना खान बस रोकियो । सबैले भात खायौं । भाउजूले पनि खाइन् । तर उनले दाइसँग खाएन् । देवरहरुसँगै भात खाइरहेकी थिइन् । ड्राइभरसँग किन सँगै भात नखाएकी होलीन् ? कि ड्राइवरकी आफ्नो मान्छे होइनिन् र ? नत्र किन खलासीहरुले भाउजू भनेका  त ? मनमा कुरा खेलिरह्यो । भात खाएर बस हिँड्यो । फेरि हिन्दी बज्न थाल्यो । खाना खाएकोले होला, निद्रा पो लाग्न थाल्यो मलाई । तर कसरी निदाउनु ? देवरहरु र भाउजूहरुको हल्ला जारी थियो । गीत गाएकै थिए । ताली बजाइरहेकै थिए । अहो ! दाजुले पनि गीत गाउन पो थाले । त्यतिबेला भाउजूले ड्राइवरको कुममा अडेस लगाएर ताली बजाइरहेकी थिइन् । ड्राइवरले पनि बेलाबेला गाउँदै ताली पनि बजाउन थाले । मलाई त्यो दृष्यले अलि अप्ठ्यारो लाग्यो । मानौ उनीहरुले त्यो ताली कि भदौरे मेलामा बजाइरहेका छन् । वा कुनै मेलामा बजाइरहेका छन् जस्तो लाग्न थाल्यो । अठ्यारो भन्दा पनि बढी डर लाग्यो । बसले कतै सन्तुलन गुमायो भने ?! खाना खएपछि लाग्ने निद पनि हरायो ।

भालुबाङबाट महेन्द्र राजमार्ग सिधै पूर्वतिर लाग्यो । हाम्रो बसले राजमार्गलाई भालुबाङलाई बिदाइ गर्दै प्यूठानतिर लाग्यो । पछाडी सिटमा बसेका यात्रुहरु मस्त निदाइरहेका थिए । मलाई भने किन हो निदै लागेन । बरु मनमा अलिअलि डर भने लागिरहेको थियो । तर डराउनुको अर्थ थिएन । जिन्दगी ड्राइवरको हातमा सुम्पिदिएर हिँडका छौं । जे पर्ला उही तर्ला भन्दै मनमा कुरा खेलाइरहेँ । भालुबाङबाट उकालो निक्लेपछि ड्राइवरले ताली बजाउन छाडे । बाटो अलि अप्ठ्यारो भएर होला । बीचबीचमा गाएर भने साथ दिइरहेका थिए । बड्डाडाँडा उकालो नलाग्दै कुनबेला म पनि निदाइहालेछु । चकचके आएर बस रोकियो । म झल्यास्स व्यझिएँ । आँखा खोलेर मैले पहिलोपटक ड्राइवरलाई हेरें । त्यसपछि सबै यात्रुहरुलाई हेरें । सबै सुतिरहेका । खलासी ढोका खोलर बाहिर झर्दै थियो । भाउजू देखिनन् । ड्राइवर सोधें, ‘दाई, भाउजू खोई त ?’ ड्राइवरले ती मुसुक्क हाँस्दै ती महिलाको घर बड्डाँडा भएको र उतै झरिसकेको बताए । रातको बाह्र बजेको थियो । २ घण्टा यतै बस्ने भन्दै बसबाट झरेर उनी होटलतिर सुत्न गएँ । म बसमै सुतें ।

२ घण्टापछि बस हिँड्यो । भाउजू नभएको कारण यात्रामा डर कम भयो । गीत बजिरहेकै थियो । खलासी भाई मेरो छेवैमा आएर बसें । मैले भाउजूको बारेमा सोधें । उनले भाउजूको बेलीबिस्तार लगाए । उनको घर बड्डाँडाको नजिकैको गाउँमा रहेछ । उनका श्रीमान् बैदिशिक रोजगारको सिलसिलामा खाडी मुलुकमा छन् । ड्राइवरसँग उनको चिनापरिचय भएको ४÷५ महिना भएको रहेछ । नेपालगञ्ज सामान लिन भनेर त्यही बसमा भाउजू पनि गएका रहेछन् । बस रोल्पा नफर्कदासम्म ड्राइवरसँगै नेपालगञ्ज घुमेछन् उनीहरु । सामान बनाएर त्यही बसमा उनी फर्केकी रहेछिन् ।

बिहानै सजिलै लिबाङ आइपुगें । टुँडिखेलमा बस रोकियो । पानीले गर्दा लिबाङको टुँडिखेल पनि हिलाम्य भएको रहेछ । दाजु र देवरहरु बसमा के के सामानहरु यताउता मिलाउँदै थिए । म कोठातिर लागें ।

कोठमा पुगेर थकाइ मार्दै सोचें ‘यस्तै भाउजूहरुको कारणले पनि बस दुर्घटना हुँदो हो । तर आजको यात्रा सफल भयो ।’
_____प्रकाशित मितिः २०७१ माघ २७ गते

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal