Breaking News
Loading...

Info Post

जलजला, सुनछहरी हेर्न आउनु रोल्पातिर
मलाई न्यानो अङ्गालोमा बेर्न आउनु रोल्पातिर ।

स्वर्गद्वारी प्रभूको जन्मभूमि, थुप्रै कला, संस्कृति,
ज्ञानगुणका कुराहरु खेर्न आउनु रोल्पातिर ।


नामः खेमराज गाउँले
जन्मस्थानः खुमेल–५, रोल्पा
हालः   रेडियो रोल्पा ९३.८ मेगाहर्ज, लिबाङ–५, रोल्पा
जन्म मितिः २०४४–०६–०२
माताः  भिमा थापा मगर
पिताः स्व. लाले थापा मगर
साहित्यिक यात्राः २०६२मा सदरमुकाम लिबाङ झरेपछि
लेखन विधाहरूः मुक्तक, कविता, कथा, गजल, हाइकु, गीत
प्रकाशित कृतिः क्रान्तिकारी हातहरु (तपाईको हातमा),
     विभिन्न सिर्जनाहरु स्थानीय पत्रपत्रिकाहरु,     
      ब्लग, फेसबुक तथा वेवसाइटहरुमा प्रकाशित 
आवद्धता/संलग्नताः
—    सदस्य–ललित साहित्य परिषद्, रोल्पा
—    कोषाध्यक्ष–मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, रोल्पा शाखा
—    सह–सचिव—नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रोल्पा
—    साधारण सदस्य– मानवअधिकार सचेतन केन्द्र (हुरेक), रोल्पा
—    समाचार सहायक–रेडियो रोल्पा ९३.८ मेगाहर्ज
—    सदस्य–बागेश्वरी असल शासन क्लव, जिल्ला शाखा रोल्पा
सम्पादन  ः ‘पाइला’ र ‘गाउँले’ गजल पत्रिका सम्पादन

e-mail         : khemraj.gaunel@gmail.com
blog            : http://gaunleman.blogspot.com
facebook    : http://facebook.com/rolpa
मोबाइल/फोन ९८४७८५०९०२/०८६–४४०१०२

खेमराज गाउँलेका गजलहरु
गजल–१
जलजला, सुनछहरी हेर्न आउनु रोल्पातिर
मलाई न्यानो अङ्गालोमा बेर्न आउनु रोल्पातिर ।

स्वर्गद्वारी प्रभूको जन्मभूमि, थुप्रै कला, संस्कृति,
ज्ञानगुणका कुराहरु खेर्न आउनु रोल्पातिर ।

अन्नपानी सकिदाखेरि, भोकमरीले सताउँदा,
समाधानको बाटो खोजी घेर्न आउनु रोल्पातिर ।

शिवगुफा, रुन्टी अनि घुमाइदिन्छु थबाङबस्ती,
‘गाउँले’संगै हिड्ने धोको फेर्न आउनु रोल्पातिर ।

गजल–२
कुलत र कुसंस्कारमा फस्न थाले मान्छेहरु
शहरमा डेरा जमाइ बस्न थाले मान्छेहरु ।

गरिब मार्न के विष, के गोमन खोज्नुप¥यो,
मान्छेलाई नै अचेल त डस्न थाले मान्छेहरु ।

गाउँ पनि विर्सिसके, रोदी घरमा गा’को पनि,
डिस्को, बार, रेष्टुरेन्टमा पस्न थाले मान्छेहरु ।

शान्ति आयो भन्छन्, गाउँ अझै शुन्य नै छ,
विस्तारै विस्तारै गाउँमा घट्न थाले  मान्छेहरु ।

सोझा, सिधा ‘गाउँले’को विचल्ली छ गाउँमा,
चहल पहल शहरमै बढ्न थाले मान्छेहरु ।

गजल–३
देश र जनताका लागि मर्नेहरु थोरै हुन्छन्
जोखिममा महासागर तर्नेहरु थोरै हुन्छन् ।

आफ्नोभन्दा अरुको भलाइका लागि,
जानीजानी चितामा पर्नेहरु थोरै हुन्छन् ।

सुन्दर फूललाई जोगाएर राख्न खोज्दा,
सुम्सुम्याउँदा सुम्सुम्याउँदै झर्नेहरु थोरै हुन्छन् ।

मै खाऊँ, मै लाऊँ भन्नेहरु धेरै हुन्छन् यहाँ,
जे गर्नुछ देशकै लागि गर्नेहरु थोरै हुन्छन् ।
चैत ८, २०६६

गजल–४
तिमीलाई जीवनसाथी चुनेको’थें कुनैबेला
सजाएर यो दिलभित्र थुनेको’थें कुनैबेला ।

सोचेजस्तो जीवनमा हुन्न रै’छ कहिल्यै पनि,
सपनाको सुन्दर माला उनेको’थे कुनैबेला ।

मिठामिठा गफ गर्दै, संगसंगै हिड्थ्यौ हामी,
मनभित्रका पीर व्यथा भूलेको’थें कुनैबेला ।

डोलीभित्र सजाउने, पञ्चेबाजा बजाउने,
अझ अरु के–के सपना बुनेको’थें कुनैबेला ।

भूल्न पनि कति गाह्रो, विर्सी जाने निष्ठूरीको,
अन्तै माया छ रे भन्ने पनि सुनेको’थें कुनैबेला ।


गजल–५
पीडा नभइ विरहका गजल मैले गाउँथें किन
माया नभइ तिम्रो घरमा मैले धाउँथें किन ।

नजिक हुन जति खोजें, टाढाटाढा भाग्छ्यौ तिमी,
माया नगर्ने भए तिमीलाई पछ्याउँथें किन ।

सकेको भए बुझाउन पत्थरसरी तिम्रो मन,
माया दिदा आखिर धोका मैले पाउँथे किन ।

तिमी जस्ती विश्वासघाती छान्नु मेरै भूल हो,
थाहा भए व्यर्थैमा माया मैले लाउँथें किन ।

यो शहरमा ‘गाउँले’को भन्दा तिम्रो मन चोखो देखेँ,
नत्र त तिम्रो दिलमा बास माग्न आउँथें किन ।

गजल–६
विगतमा जे जे भए, भूल्नुपर्छ अब
बग्न दिन्न आँशु तिम्रो, पुछ्नुपर्छ अब ।

छिया छिया मनलाई, टाल्ने मेरो माया छ,
तिम्रो दुःख मैले पनि बुझ्नुपर्छ अब ।

तिमीबाट टाढिनु बाध्यता थियो हिजो,
सकिन्न भो एक्लै बाँच्न जुट्नपर्छ अब ।

फेरिने छैन कहिल्यै पनि साइनो हाम्रो,
प्रेम बारीमा हाम्रो माया फुल्नुपर्छ अब ।

टुटेको त्यो नाता जोड्न नमान भो लाज,
मेरो पनि कुरा तिम्ले सुन्नुपर्छ अब ।

गजल–७
यो शहरमा अझै मैले गाउँ भेटिनँ
चोट कहाँ छ, पिरतिको घाउ भेटिनँ ।

आ–आफ्नै स्वार्थमा बाँचेका छन् मान्छेहरु,
मनको भारी विसाउने ठाउँ भेटिनँ ।

पश्चिमी संस्कृति पछ्याएर पो हो की,
अचेल प्रेमको निश्चित भाउ भेटिनँ  ।

करोडौंको कुरा गर्नेहरु बस्छन् यहाँ,
सय गन्ने मेरो गाउँको साहु भेटिनँ ।

गरिब र धनीबीचको विभेदलाई,
तराजुमै जोख्ने थिएँ पाउ भेटिनँ ।

गजल–८
आफूलाई दुःख पर्दा साथ खोज्दै रुन्छन् मान्छेहरु
अरुलाई दुःख पर्दा कति स्वार्थी हुन्छन् मान्छेहरु ।

अरुले गरेको प्रगति त कसैले देखी सहन्नन्,
आफन्तकै षड्यन्त्रका जालहरु बुन्छन् मान्छेहरु ।

राम्रा नेताको कुरा मात्र हैन काम राम्रो हुनुपर्छ,
राम्रो कुरा जसले गर्छ, उसैलाई चुन्छन् मान्छेहरु ।

जसले जे भन्यो उसैको कुरा विश्वास गर्नु हुँदैन,
नबुझेरै दुनियाँका कुराहरु सुन्छन् मान्छेहरु ।

सफल भएपछि विर्सन्छन् आफ्नै सहयोगीलाई,
उसैको साथले गर्दा नै  शिखर छुन्छन् मान्छेहरु ।

गजल–९
देउरालीमा झरेँ र यो गजल गाउँन थालेको छु
सगरमाथा एक्लै चढें र यो गजल गाउन थालेको छु ।

देउरालीमा कसम खान्थ्यौं, संगै जीउने संगै मर्ने,
तिम्रै निम्ति ज्यूदै मरें र यो गजल गाउन थालेको छु ।

प्रेमको महासागर संगै तर्न तयार तिमी, बिचैबाट फर्कियौ,
महासागर एक्लै तरें र यो गजल गाउन थालेको छु ।

यात्रा हाम्रो एउटै थियो, किन छुट्यो साथ तिम्रो ?
तिमीबाटै ओझेल परें र यो गजल गाउन थालेको छु ।

सुखकै खोजी गर्दा दुःखै दुःख पाएको छु मैले,
दुःख भूल्ने प्रयास गरें र यो गजल गाउन थालेको छु ।

गजल–१०
आँशु पिउँदै बाँच्नुपर्ने बाध्यता उस्तै छ
के छ भनी खबर नसोध व्यथा उस्तै छ ।

शताब्दी फेरियो रे मेरो जीवन फेरिएन,
झुपडिको छनो टाल्ने सपना उस्तै छ ।

एक्लै छाडि मलाई टाढा टाढा भागे पनि,
विर्सनै सकिनँ, मनभरी संझना उस्तै छ ।

के खाऊँ, के लाऊँ भन्दैमा वित्ने भो जुनी,
मीठो खाने, राम्रो लाउने चाहना उस्तै छ ।

टुक्रा टुक्रा मनलाई जोड्ने प्रयास गर्दैछु,
गरीब ‘गाउँले’को यहाँ कथा उस्तै छ ।

विमोचन बारेमा यस लिङ्कमाः http://sahityabatika.blogspot.com/2011/02/blog-post.html
नोटः ११ जना गजलकारहरुको संयुक्त गजल संग्रहमा संग्रहीत मेरो यी १० गजलहरु ।         

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal