Breaking News
Loading...

खेमराज गाउँले रोल्पा जिल्लाको लिबाङमा बसोबास गर्छन् तर उनको घर भने रोल्पा सदरमुकाम लिबाङदेखि पुर्वतिरको खुमेल भन्ने गाउँमा पर्छ । हाल लिबाङमै रहेको जलजला बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा पढ्दैगरेका खेमराज भन्छन्-'अन्य पेशाको रूपमा केही छैन।' तिनवर्ष स्थानिय रेडियो खेमराजका निम्ति पत्रकारिता रूचिको विषय हो रे तर पनि उनी 'अहिले कतै जोडिन सकेको छैन' भन्छन् । पत्रकारितासंगै उनको अर्को रुचिको बिषय भनेको साहित्य पनि हो । 'जिल्लामा भएका साहित्यिक कार्यक्रमहरू लुखुरलुखुर हिंडिरहन्छु'-खेमराज भन्छन् । पत्रकारिता र साहित्यप्रतिको रुचीलाई भोग्न अनि पत्रकारका रुपमा कतै जोडिन नसक्दाको भोक मार्न होला सायद उनले रोल्पामै बसेर ब्लगिङ पनि गरेरहेका छन् 'गाउँले मन' नाममा ।  मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै गाउँले मन लिएर रोल्पा जिल्लाको एउटा गाउँ खुमेलबाट सदरमुकाम लिबाङमा भौँतारिँदै गरेका खेमराज गाउँलेलाई उभ्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :
रोल्पामा काम गर्नुका साथै दुईवर्ष जलजला पोष्‍ट साप्ताहिकमा काम गरेको अनुभव संगालेका 
सोसल मिडियामा तपाँईले आफ्नो नाम खेमराजसंगै नामको पछाडी 'गाउँले' भनेर पनि चिनाउन खोज्नुभएको छ । किन यो नाम राख्नुभएको? केही बताउन मिल्छ?
उसो त सोसल मिडियामा खासगरी ट्विटरमा धेरै साथीहरू फरक नामले परिचित हुनुहुन्छ । तर मैले खेमराज गाउँलेकै रूपमा खाता खोली चलाइलहेकै छु । गाउँले मान्छे¸  उसैमाथि लप्पनछप्पन नजान्ने परिएछ । सुरूमा गाउँले नाम ख्यालख्यालै राखियो । अहिले सबैले गाउँले भनेर चिन्न थालेपछि फाल्न सकिएको छैन । अहिले त गाउँले नै प्यारो लाग्छ मलाई ।
सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा?
म ब्लगर नै हुँ जस्तो लाग्छ ।
आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न । यो बिशुद्द ब्लग हो या पत्रकारिताको प्लेटफर्म पनि?
म इन्टरनेटमा छिरेदेखि नै ब्लग चलाउन थालेको हुँ । गाउँलेमन डट ब्लगस्पट डटकम मैले सुरुदेखि चलाउँदै आएको ब्लग हो । यसमा कुनै कुनै समयमा समाचारहरू पनि राख्ने गरेको छु । त्यसैले यो ब्लग बिशुद्ध ब्लग नभई पत्रकारिताको प्लेटफर्मजस्तै पनि छ ।
ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?
मैले २०६५ सालदखि नै ब्लगिङ सुरु गरें, पत्रकारितासँगसँगै । सुरुमा मैले फेसबुक खोलें । त्यससँगसँगै ब्लग पनि खोले । http://gaunleman.blogspot.com का साथसाथै https://listenrolpa.blogspot.com पनि चलाउँछु ।
ब्लगिङ किन गर्नुहुन्छ?
सुरुमा रहरै रहमा ब्लगिङ सुरु गरियो । चलाउँदै जाँदा जिम्मेवारी पनि थपिने रहेछ । समाजको लागि केही गर्नुपर्छ भन्ने सोचमा छु । तर गर्न सकिएको छैन ।
कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?
मैले मेरो ब्लगमा थोरै मात्रामा समाचारहरू राखेको छु । बढी त मेरा सिर्जनाहरू छन् । विशेषगरी साहित्यिक विषयवस्तुले नै प्राथमिकता पाएका छन् मेरा ब्लगमा ।
तपाईंको ब्लगमा समसामियक समाचार, सुचनामुलक सामग्री र साहित्यका कुराहरु पनि रहेछन् । किन यसरी 'खिचडी ब्लग' बनाउनुभयो? कतै आफु पत्रकारिता पृष्ठभुमिको भएकोले यसलाई पनि पत्रिकाको रुप दिन खोज्नुभएको त हैन?
सुरूमा ब्लग खोल्दा फरक फरक विषयवस्तुका फरकफरक ब्लग चलाउनु पर्‍यो भनेर सोचें । धेरै ब्लगहरू चलाउँदा समय पनि धेरै खर्च हुन्छ जस्तो लाग्यो । धेरै ब्लगहरु चलाउँदा पाठकहरु पनि बाँडिन्छन् कि भन्ने लाग्यो । त्यसैले सबै विषयवस्तु एउटै ब्लगमा राखें । यसरी चलाउँदै जाँदा पत्रिकाजस्तै भएको हो । पत्रिकाजस्तै चलाउँछु भन्ने सोचले ब्लग चलाएको होइन । पछिल्लो समयमा http://listenrolpa.blogspot.com चलाउन थालें । यसमा रोल्पाका गीतसंगीत र रेडियो कार्यक्रमहरू राख्ने प्रयास गरेको छु ।
ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो ब्लगहरु कुनै एक बिषयमा केन्द्रित हुन्छन् । जस्तो साहित्यिक, समसामयिक, बिचारमुलक, हाँस्य प्रधान या छद्म भाषामा लेखिने खालका । तर यहाँले अखबारजस्तै बिभिन्न सेग्मेन्टहरु राखेर ब्लगिङ गरिरहनुभएको छ । किन होला ?
अघि भनेझैँ मेरा ब्लगका पाठकहरु नबाँडियून भनेर नै यसो गरेको हुँ ।
पत्रकारले झैँ सुचना र समाचार बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?
साहित्यको विकासका लागि केही गर्नुपर्छ भन्ने सोच छ । विशेषगरी रोल्पाको साहित्यलाई विश्‍वमाझ पुर्‍याउन अथवा रोल्पाको साहित्यलाई प्रचारप्रसार गर्नुपर्छ भन्ने मेरो सोच हो ।
तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
मान्छेहरूले सजिलो बाटो मात्रै रोजेका छन् । अधिकांश युवाहरु फेसबुक र ट्विटरमै अलमलिएका छन् । थोरै युवाहरू मात्रै ब्लगतिर लागेका छन् । तैपनि नेपाली ब्लग निकै अगाडि बढिरहेको छ ।
अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?
नियमित रूपमा नपढे पनि अरूको ब्लग पढ्छु । आफ्नै गाउँठाउँका साथीहरू ब्लगहरु धेरै हेर्छु । प्रायः हटारु¸ चिन्तन चौतारी¸ सुमन मञ्जरी  लगायतका ब्लगहरु पढ्छु । फेसबुक र ट्विटरका टाइलाइनमा बाँडिएका लिङ्कहरू समय मिलेसम्म खोलेर पढ्छु ।
नेपाली ब्लगरहरुले उठाउन छुटाएको कुनै सवाल देख्नुभएको छ?
इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न सकेको छैन । त्यसैले ग्रामीण क्षेत्रका अधिकांश कुराहरू¸ विषयवस्तुहरू अझै बाहिर आउन सकेका छैनन् ।
रोजाईका हिसाबले विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?
ब्लगमा मैले धेरैजसो समय सिर्जनाहरू पढ्ने गरेको छु । यसकारण साहित्यिक विषयवस्तुहरू समेटिएका ब्लगहरू मेरो रोजाइमा पर्छन् ।
ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
ब्लगरहरूले आफूखुसी ब्लगिङ गरिरहेका छन् । जस्तो पायो उस्तै ब्लगिङ गर्ने प्रचलन छ । आफूखुसीले गर्दा अरूलाई नराम्रो हुन पनि सक्छ । त्यसैले ब्लगिङका लागि आचारसंहिता अनिवार्य छ ।
अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ?
धेरैले आचारसंहिताको पालना गर्नुभएकै पाएको छु । थोरै छन् आचारसंहिता उल्लेख गर्नेहरु । तिनीहरू पनि नबुझेर गरेका होलान् जस्तै लाग्छ ।
ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
मैले केही समय अघि मात्रै 'पूर्वी रोल्पाको एक मात्र रेडियो’ शीर्षकमा लघुकथाजस्तै लेख राखेको थिएँ । धेरै साथीहरूले फोनमार्फत् बधाई तथा शुभकामना दिए । लेख लेखेकोमा हैन¸ रेडियो खोलेकोमा । सबै साथीहरूलाई त्यो लेख सबै पढ्न लगाएँ । पछि थाहा भयो उनीहरूलाई कथा रहेछ भनेर अहिले साथीहरुले मलाई ´रेडियो चौरपानी’को स्टेशन म्यानेजर भनेर जिक्याउँछन् । पछि पत्रिकाले पनि छाप्यो । मलाई पनि रमाइलो लाग्छ ।
तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग,  ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?
ब्लग¸ ट्विटर र फेसबुकका आआफ्नै विशेषता छन् । ट्विटरमा गफिन मजा¸ फेसबुकमा मनका कुरा पोख्न मजा¸  ब्लगमा विचारहरू राख्न मजा ।
नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?  
सबैजसो ब्लगहरु सामाजिक हितमा नै लेखिएको पाएको छु ।
तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?
पछिल्लो समयमा पूर्वी रोल्पाको एकमात्र रेडियो नै धेरैले हेरे ।
ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?
ब्लगिङ गरेर मैले सारा संसार पाएको छु । सारा साथीहरु भेटाएको छु । परिचय भएको छ । यसैले मलाई चिनाएको छ । तर पनि मैले धेरै समय यसलाई दिनुपर्छ । त्यसैले समय मात्रै गुमाएको छु ।
ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
भन्नलाई ब्लगिङलाई नागरिक पत्रकारिता भनिएको पाइन्छ । तर पत्रकारिता क्षेत्रमा नागरिक पत्रकारिता भन्ने कतै उल्लेख छैन जस्तो लाग्छ । तर ब्लगिङको प्रभावकारिता भने दिनप्रतिदिन बढ्दै गएको छ ।
अन्त्यमा,
मेरोरिपोर्ट नियमित रूपमा पढ्छु ।  यसमा मेरो पनि खाता छ । तर नियमित चलाउन सकिएको छैन ।    
सोसल मिडियामा खेमराज गाउँले
मेरोरिपोर्ट: http://meroreport.net/profile/KhemrajGaunle
फेसबुक : www.facebook.com/gaunleman
ट्विटर :  www.twitter.com/khemrajgaunle ;
ब्लग :   www.gaunleman.blogspot.com

___मेरो रिपोर्ट डट नेटमा प्रकाशित

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal