Breaking News
Loading...

तथ्याङ्कमा थबाङ गा.वि.स.
–    जिल्ला सदरमुकाम लिबाङदेखिको दुरी – २८ कोस
–    थबाङ गा.वि.स.को जम्मा घरधुरी – ९४४
–    थबाङ गा.वि.स.को जम्मा जनसंख्या – ४,८४१ जना
–    थबाङ गा.वि.स.को जम्मा पुरुष – २,४५० जना
–    थबाङ गा.वि.स.को जम्मा महिला – २३९१ जना
–    हावापानी ः शीतोष्ण र समशीतोष्ण
–    समुद्र सतहदेखिको उचाई – १८१० मि.–३२६६ मि.सम्म
–    क्षेत्रफल – ६,९७४.००५००५ हेक्टर
–    साक्षरता – ८५%
–    प्रमुख आयश्रोत – कृषि र विप्रेषण

ऐतिहासिक गाउँ थबाङ
समुद्री सतहदेखि २००० मि. उचाइमा वरिपरि सुन्दर पहाडले घेरिएको २२९ घरधुरीको समथर बस्ती नै थबाङ गा.वि.स.को मुख्य गाउँ थबाङ हो । मगरहरुको बाहुल्य हेको यस गाउँका घरहरु परम्परागत शैलीमा निर्मित छन् । काठको फ्लेक र ढुङ्गाको छानो भएको बाक्ला घरहरु रहेको यस थबाङ गाउँको सम्पूर्ण गल्लीहरुमा ढुङ्गा विछ्याई सफा, सुग्घर गरिएको छ । बाइसे चौबिसे राज्यकालदेखि नै थबाङबासीहरुले राज्यको दमन, उत्पीडन विरुद्ध संघर्ष गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । लालु शाही र कालु शाहीलाई प्रतिरोध गरी थबाङबाट लखेट्ने, प्रजातन्त्रको आगमन पश्चात २०१५ सालको आम चुनावमा सम्पूर्ण मत तत्कालीन ने.क.पा.को उम्मेदवारलाई दिने, २०३७ को जनमत सङ्ग्रहमा सम्पूर्ण भोट बहुदलको पक्षमा खस्नु, २०३८ को आम निर्वाचनको पूर्ण बहिष्कार र शाही नेपाली सेनाको मेजर अप्रेशनको सामना, २०५१ को मध्यावधि चुनावमा ४ मत मात्र मतदान र बाँकी सबै मत बहिष्कार, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको सुत्राधार जनयुद्धको उद्गम र केन्द्रस्थल हुनु, २०७० मंसिर ४ को दोस्रो संविधानसभाको निर्वाचनमा शून्य मतदान हुनु लगायतका घटना क्रमहरुले थबाङ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ऐतिहासिक गाउँमा दर्ज भई थबाङ सांस्कृतिक, राजनैतिक, प्राकृतिक संगमको गन्तव्यस्थल बनेको छ । थबाङमा ‘क’ श्रेणीको इ.प्र.का., स्वास्थ्य चौकी, इलाका हुलाक कार्यालय, टेलिसेन्टर, श्री वीरबलभद्र उ.मा.वि., शहीद स्मृति क्याम्पसलगायतका सरकारी निकायहरु रहेका छन् भने जलजला सामुदायिक स्वास्थ्य केन्द्र, आइएमई, पर्यटक सूचना केन्द्रबाट पनि सेवा प्रवाहित छ । थबाङ–४ झकेबाङमा आकर्षक शहीद स्मृति पार्क निर्माण गरिएको छ । थबाङलाई जिल्ला कृषि विकास कार्यालयबाटै अर्र्गानिक गाउँ घोषणा गरी रासायनिक मल, किटनाशक, रोगनाशक रासायनिक विषादी निषेध गरी प्राङ्गारिक खेती प्रवद्र्धन भइरहेको छ ।
   
पहुँच
    रोल्पाको सुलिचौरबाट २९ किलोमिटर मोटरबाटो र ३६ किलोमिटर सुगम पदमार्ग, घोराही थबाङ मोटरबाटो, रुकुम–थबाङ मोटरबाटो, जेलबाङ–जलजला–थबाङ सहज पदमार्गबाट सजिलै पुग्न सकिने थबाङमा पर्यटकीय स्थल ढोरपाटन सिकार आरक्ष र पोखरा–बाग्लुङ मध्यपहाडी लोकमार्ग हुँदै रुकुम काँक्री महतबाट पनि थबाङ पुग्न सजिलो भएको छ ।

अतिथि सत्कार, आवास, खानपान
पर्यटकहरुको सुविधाको लागि ‘थबाङी मगर सामुदायिक होमस्टे’ गठन गरी दर्ता भएको छ । यस होम स्टेबाट आगन्तुकहरुको स्वागत सत्कार, शौचालय, स्नानागारसहितको आरामदायी र सुरक्षित कोठाको सुविधाका साथै स्थानीय प्राङ्गारिक कृषि उपजहरुद्वारा तयार गरिएको स्वास्थ्यवद्र्धक खाद्यवस्तुहरु र पेय पदार्थहरु शान्त र पारीवारिक वातावरणमा उपलब्ध छ ।

हावापानी
    शितोष्ण र समशितोष्ण हावापानी रहेको थबाङ गा.वि.स.को थबाङ गाउँमा समशितोष्ण हावापानी विद्यमान छ । थबाङ गा.वि.स.को जलजला क्षेत्र धेरै चिसो भए पनि थबाङ गाउँको तापमान् न्यूनतम –५ सेल्सियसदेखि अधिकतम २९ सेल्सियस रेकर्ड गरिएको छ । आगन्तुकहरुको भ्रमणका लागि बाह्रै महिना सम्भव भए पनि फागुनदेखि आषाढसम्म र असोज–कात्तिक महिना सबैभन्दा अनुकुल मौसम हो ।

खुला दिसामुक्त क्षेत्र
    थबाङ गा.वि.स.को प्रत्येक घरधुरीमा शौचालय निर्माण र प्रयोग गरी जिल्ला विकास समिति, रोल्पा र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाले अनुगमन गरी खुल्ला दिसामुक्त क्षेत्र घोषित गर्न अनुमति दिएपछि २०७० फागुन १ गते जनयुद्ध दिवसका दिन थबाङ गा.वि.स. खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।

मगर जातीय संस्कृति र संकार 
थबाङमा मगर जातिको मौलिक मगर खामभाषा, मगर जातिको मौलिक भेषभूषा प्रचलित छ । जन्म, विवाह र मृत्यु संस्कार र प्रकृति पूजक मान्यताहरु थबाङको मौलिक संस्कार हुन् । थबाङको प्रमुख चाडको रुपमा प्रत्येक वर्ष आषाढ १–५ सम्म लाग्ने ‘नाम्कः (भूमे) पर्व’लाई मनाइन्छ । नौमती बाजाको १२ प्रकारको तालमा परम्परागत मगर जीवनशैली अभिव्यक्त हुने बाह्र प्रकारको नाचमा एकै साथ सयौं नरनारीहरु सहभागी हुने यस मेलाको रस्वादन गर्न प्रत्येक वर्ष देश विदेशबाट आगन्तुकहरु थबाङ ओइरिन्छन् । यसबाहेक माघ संक्रान्तिको चेली पूजा, किशोरीहरुको मस्यान्द्रा खेल, पुरुषहरुको स्याम्भो गायन, चाँदमारी विशेष रमाइलोका साथ मनाइन्छ भने साउने संक्रान्ति, भाद्र १ गते घ्यू खाने संक्रान्ति, बाह्र भदौ लगायतका चाडपर्वहरु मौलिक मगर सांस्कृतिक सम्पदाको रुपमा रहेका छन् ।

अजम्बरी जनकम्युन
जनयुद्ध कालमा तत्कालीन नेकपा (माओवादी)को अगुवाईमा साम्यवादी उत्पादन सम्बन्ध र जीवनशैलीको विकास गर्न व्यक्तिगत सम्पत्ती र स्वामित्वलाई सामुहिक सम्पत्ति र स्वामित्वमा रुपान्तरित गरी २०६० साल जेठ १४ का दिन ६ घरपरिवारबाट अजम्बरी जनकम्युनको गठन र घोषणा गरिएको थियो र २०६३ सालमा ३३ घरपरिवार कम्युनमा स्वइच्छाले समावेश भएका थिए । माओवादी जनयुद्ध शान्तिप्रक्रियामा गएपछि २० घरपरिवारले स्वइच्छाले जनकम्युनबाट अवकाश लिएपश्चात् पनि हाल १३ घरपरिवारको ८० जना सदस्यहरु सामुहिक जीवनशैली र सामुहिक स्वामित्वमै जीवन निर्वाह गरिरहेका छन् । अजम्बरी जनकम्युनहरु कम्य’निष्टहरुको आस्थाको धरोहर र महत्वपूर्ण पाठको रुपमा स्थापित भएको छ । यो जनय’द्धकालीन निर्माणको अंश र साम्यवादी व्यवस्थाको प्रतीकको रुपमा परिचत छ । 

एसियाको दोस्रो र नेपालको पहिलो ट्रफल अनुसन्धान परियोजना    त्रिभूवन विश्व विद्यालय कीर्तिपुरको आर्थिक एवम् प्राविधिक सहयोग र अजम्बरी जनकृषि सहकारी संस्था लिमिटेड, थबाङको सहकार्यमा थबाङ–२ राचिबाङमा एसियामै दोस्रो र नेपालमा पहिलो ट्रफल खेती अनुसन्धान परियोजना २०६८ चैत्र २१ मा उद्घाटन भएको हो । युरोपियन राष्ट्रहरुमा खेती गरिने ट्रफल अनुसन्धान परियोजनाबाट थबाङमा ट्रफल खेती राम्रो हुने नतिजा आएमा यस भेगकै जनताको जीवनस्तरमा कायापलट हुनेछ । विरुवा रोपेको ७ वर्षदेखि ५० वर्षसम्म उत्पादन दिने विभिन्न जातको ट्रफल विरुवामा हालसम्मको परीक्षण अनुसन्धान विरुवामा ट्रफलको ढुसीको संक्रमण  सकारात्मक देखिएको छ ।

जलजला
थबाङ, मिरुल, धबाङ, जेलबाङ, सेरम र उवा गा.वि.स.को सीमासँग जोडिएको ‘जलजला’ क्षेत्र थबाङ गाविसको वडा नं. ६ मा पर्दछ । जलजलाको पुरानो नाम ‘गामा’ हो । मगर खाम भाषाबाट ‘गामा’को अर्थ ‘अग्लो लेकको बुकी पाटन’ हो । आजभोलि पनि स्थानीयबासीहरु जलजलालाई ‘गोङ’ नै भन्दछन् । मगर खाम भाषामा ‘गामा’ र ‘गोङ’ पर्यायवाची शब्द हुन् । ३१७२ मिटर उचाइमा रहेको घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला परिचयले व्यापकता पाएको जलजला पशुपालनका लागि राम्रो चरण क्षेत्र भए तापनि वन्यजन्तु, गैरकाष्ठ वनपैदावार, वन र भू–संरक्षणका लागि २०५५ सालदेखि तत्कालीन ने.क.पा. (माओवादी)को नेतृत्व र स्थानीय समुदायको सभागिता एवम् सक्रियतामा चरिचराउ बन्द गरी हालसम्म संरक्षित गरिएको छ । सिस्ने, पुथा, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माचापुच्छे«, लमुजुङ हिमाललगायतका हिम चुचुराहरुको मनोरम दृष्य एकै ठाउँबाट सहजै अवलोकन गर्न सकिने जलजला थार, घोरल, झारल, मृग, बँदेल, भालु, चितुवा, बाघ, कस्तुरी, रातो पाण्डा, डाँफे, मुनाल, फक्रांश, कालिजलगायतका वन्यजन्तुहरु र पाँचऔंले, विषमा, अतिस, कुठ, सतुवा, निरमसी, पाखनवेद, सुगन्धवाल, चिराइतोलगायतका जडिबुटीहरुको प्राकृतिक बासस्थान हो । समुद्री सतहबाट ३२६६ मिटर उचाइमा अवस्थित धरमपानी चुचुरा जलजला क्षेत्रको सर्वाधिक अग्लो चुचुरो हो । यहाँ माओवादी जनयुद्धको सहिदहरुको सम्झनामा ५ कुने शहीद स्मृति स्तम्भ निर्माण गरिएको छ । यहाँबाट आकर्षक सूर्योदय अवलोकन गर्न सकिन्छ । राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजला चैत्र–भाद्रसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुन्छ । दर्जनौं प्रजातिका गुराँस, गन्धव, हाङ्व, रथविरथ, पातव, विन्जोरीव, धस्कीनी, जिलाव लगायतका फूलहरु चैत्र–भाद्रसम्म फुलिरहने जलजला हिउँदभरि हिमपातले सेताम्य हुन्छ ।