Breaking News
Loading...

Info Post
— खगेन्द्र गिरि ‘कोपिला’
नेपाली साहित्यमा राम्रो उपन्यास लेख्न नसक्ने स्रष्टा कथा लेख्न थाल्छ र राम्रो निबन्ध लेख्न नसक्ने लेखक समीक्षा/समालोचना लेखेर आत्मसन्तुष्टिमा रमाउँछ भन्ने चर्चा चल्ने गरेको छ । त्यस्तै गतिलो कविता लेख्न नसक्ने मान्छे गजल लेख्नपट्टि लाग्छ र राम्रो गजल पनि लेख्न नसक्ने मान्छे मुक्तक लेखेर दिन काट्छ भन्ने आरोप पनि लाग्ने गरेको छ । पछिल्लो समयमा देखिएको अखबारी आख्यान, गजल र मुक्तकको होहल्लाले पनि यस कुरालाई पुष्टि गर्न बल पुर्‍याएको छ । राम्रो लेख्न सक्ने र नसक्नेहरुको बौद्धिक अन्तर्द्वन्द्वले साहित्यलाई फाइदै पुगेको छ, घाटा छैन । वास्तवमा बौद्धिक अन्तद्र्वण्द्व भन्नु नै सिर्जनशीलताको आधारशीला हो ।

साहित्यको सिर्जनशील आलोकबाट हेर्दा नेपाली मुक्तक बौद्धिक अन्तर्द्वन्द्वको सिढीमा कहाँनिर उभिएको छ, अब त्यसको आँकलन गर्न जरुरी हुन लागेको छ । संस्कृत र नेपाली साहित्यको पुरानो इतिहास कोट्टयाउने हो भने गद्य लेखनभन्दा पद्य लेखनको परम्परा जीवन्त रहेको भेटिन्छ । पद्य लेखन परम्पराको सबैभन्दा गाह्रो र चुनौतिपूर्ण विधा मुक्तक नै थियो, हिजोसम्म । तर आज मुक्तक सबैभन्दा सजिलो, सस्तो र सहज विधा बन्न पुगेकोजस्तो देखिन्छ । आखिर किन ?
 
२००७ सालपछि नेपाली साहित्यमा मुक्तक लेख्नेहरुले अरु विधामा कलम चलाउँदा जति गम्भीरता देखाए मुक्तक लेख्दा त्यो गम्भीरताको अबलम्बन गर्न सकेनन् वा चाहेनन् । २००७ सालदेखि २०३५ सालको बीचको कालखण्डमा मुक्तक लेख्नेहरुका मुक्तक हेर्ने हो भने अधिकांश मुक्तकहरु ठट्यौलो, रस्यौलो र हँस्यौलो पाराका मात्र देखिन्छन् । भीमदर्शन रोका, भूपि शेरचन र हरिभक्त कट्वालहरुले पनि अन्य विधामा जुन गम्भीर चिन्तन पस्किए मुक्तकमा त्यस्तो गम्भीर चिन्तनलाई प्रवेश गराएको देखिन्न । नेतालाई घोचपेच र युवतीलाई छेडखानी गर्नुभन्दा अलि परसम्म मुक्तकको ध्वनि पुग्न सकेन । २०३५ सालपछिका मुक्तककारहरुले मुक्तकलाई अरु विधाजस्तै केही बौद्धिक बनाउने ससानो प्रयत्न गरे पनि नेपाली मुक्तक अझैंसम्म पनि नेतालाई घोचपेच र युवतीलाई छेडखानी गर्ने कर्मभन्दा अलि माथि उठ्न सकेको छैन ।
 
समकालीन नेपाली साहित्यमा सबैभन्दा ज्यादा आकर्षण, प्रशंसा, ताली, चर्चा, होहल्ला र मञ्च पाएको विधा मुक्तक नै हो । नेपाली साहित्यमा मुक्तक वस्तुतः मञ्च र तालीले नै स्थापित भएको विधा हो भन्दा हुन्छ । आजभोलिको मुक्तक पनि प्रेमपत्र, एसएमएस, ख्यालठट्टा, ठट्यौला कार्यक्रम र रमाइलाखाले कविगोष्ठीमा सीमित देखिन्छ । नेपाली मुक्तकले साहित्यिक ओज हासिल गर्न नसकेकै अवस्था छ । अबको मुक्तक लेखनको उपादेयता, औचित्य र आवश्यकताको कसीमा उत्रने काम हाम्रा अगाडि उभिएको छ ।
 
वास्तवमा मुक्तकको मूल आत्मा र स्वरलाई नेपाली साहित्यमा र केही हदसम्म हिन्दी साहित्यमा पनि अपूर्ण र उल्टो अर्थमा बुझेको जस्तो देखिन्छ । संस्कृत वाङ्मयमा आजभन्दा करिब १२ सय वर्ष अगाडि मुक्तक सत्यसन्देश र सूक्तिमय कथन पस्किने विधाको रुपमा प्रादुर्भाव भएको हो । संस्कृतदेखि हिन्दी र नेपाली साहित्यका प्रारम्भिक मुक्तकले सत्यसन्देश र सूक्तिमय कथनलाई नै आफ्नो मूल स्वर बनाएका थिए । अध्यात्म र मानवताका गहिरा भाव पस्किने मुक्तकलाई आज हामीले यौवनका रहरहरु पस्किने विधा मात्र बनाइदिएका छौं । मिरा तथा अहिल्याको उदात्त भक्तिका सूत्र लेखिएको मुक्तक र मानवप्रेमका अर्थपूर्ण निचोड कोरिएका कबिरका दोहा—चौपाईलाई आज बैंसमा उन्मुक्त युवायुवतीका कामुक इशाराहरु प्रकट हुने मुक्तक बनाइदिएका छौं, हामीले ।
 
उता फारसी साहित्यमा एक हजार वर्ष अगाडि उमर खैयामले मुक्तकजस्तै रुबाई विधाको विकास गरेर आध्यात्मिक भाव प्रकट गर्ने माध्यम बनाएका थिए । खैयामका रुबाईमा ईश्वरप्रतिको अनुराग, प्रेम र समर्पणका भाव भेटिन्थे, तर एडबर्ड फिट्जेराल्ड भन्ने अङ्रेज लेखकले उनका रुबाईलाई अंग्रेजीमा उल्था गरेर ईश्वरप्रतिको अनुराग, प्रेम र समर्पणका भावलाई महिला र पुरुषबीचको साँघुरो सम्बन्धको अर्थ लगाइदिए । हुँदाहुँदा अब त हामी प्रेम भनेपछि महिला र पुरुषको समागम र मानसिक आनन्द भनेपछि मदिराले लट्ठिनु पो सोच्न थालेका छौं र मुक्तकमा पनि यही नीति लागू गर्न थालेका छौं । परिवर्तन र विकासको नाममा यति उदेकलाग्दो ‘अर्थको खस्काई’ र ‘मूल्यको गिरावट’ सायदै अरु कुनै ठाउँ या विषयमा भएको होला ।
 
आजको मुक्तक संरचनाको नजरले हेर्दा मुक्तक बनेको देखिए पनि विचार र विषयका दृष्टिकोणले मुक्तक बन्न नसक्नुका यस्तैयस्तै प्रशस्त कारणहरु हाम्रा अगाडि उभिएका छन् र हामी मुक्तककारहरु उत्ताउलो रंगमञ्चमा कामुक नृत्य गरिरहेकी अर्धनग्न युवतीजस्तै नाच्दै मुक्तक लेखिरहेका छौं । हामी हाम्रा मुक्तकको स्तर र लेखनको औचित्यको ख्याल नगरी आफै रमाइरहेका छौं, केवल रमाइरहेका छौं ।
 
भनिन्छ, अँध्यारोको अर्को पाटोमा उज्यालो हुन्छ । ‘अर्थको खस्काई’को अर्को पाटोमा ‘चेतनाको चढाई’ पनि हुनसक्छ भने ‘मूल्यको गिरावट’को अर्को पाटो ‘अनुभूतिको उठान’ पनि त हुनसक्छ । परिवर्तनको दौड र समयको विकासक्रमले ल्याएका राम्रा या नराम्रा कुराहरुलाई हामी रोक्न सक्दैनौं । हजार÷बाह्र सय वर्षको दौरानमा मुक्तकको स्वरुप आत्मा र स्वरमा आएको परिवर्तनलाई हामी बदल्न सक्दैनौं । यतिखेर हामीले गर्ने भनेको अहिले चलनचल्तीमा रहेको मुक्तकको मानक स्वरुपलाई कलात्मक बनाउने र यतिखेर मुक्तकमा ढालिएका विषय र स्वरहरुलाई गम्भीर र स्तरीय बनाउने हो । मुक्तक लेख्ने मात्र होइन मुक्तक लेखनको औचित्य पनि पुष्टि गर्न सकियो भने आजको युगका मुक्तक लेखकहरुले भोलिको पुस्तालाई दिएको अनमोल सौगात ठहरिनेछ, आजको मुक्तक । 

२०३९/४० सालको सेरोफरोबाट नेपालले पश्चिमी पूँजीवादी शैलीको उदार र खुला अर्थतन्त्रमा प्रवेश गरेको हो । देशको अर्थतन्त्र खुला हुन थालेपछि खुलापनको असर नेपाली समाजका हरेक क्षेत्रमा पर्न थाल्यो । विगत तीन दशकको दौरानमा नेपाली समाजका हरेक क्षेत्रहरु आफ्नो मूल धरातल र मूल परिचयबाट निकै टाढा पुगिसकेका छन् । राजनीति, संस्कृति, सञ्चार, शिक्षा, खाद्य प्रणाली र सामाजिक जीवनशैलीमा निकै परिवर्तन आइसकेको छ । यी हरेक क्षेत्रको रुप हामी बदलिएको देख्दै छौं । मानिसमा सन्तुष्टिभन्दा असन्तुष्टिको मात्रा ज्यादा देखिन्छ । साहित्य, संगीत र कलाको गम्भीरता र बौद्धिकता पनि हराएर अखबारी लेखनको व्यापार, नाटकीय, इलेक्ट्रोनिक चकाचौध र प्रयोगको नाममा देखावटीपनले महत्व पाउन थालेको छ । समकालीन मुक्तकमा पनि गम्भीरता र बौद्धिकता हराएर होहल्ला, नाटकीय र सस्त्याइँ हावी हुन थालेको छ । आज मुक्तक लेख्नेहरुको पनि हुल बढेको छ, बाढी आएको छ र प्रतिष्पर्धा पनि बढेको छ । राम्रा र गम्भीर मुक्तक लेख्नेहरुलाई ‘टर्च’ बालेर खोज्नुपर्ने अवस्था छ ।
 
मुक्तक लेख्नेहरुको यही हुलमा मनले खाने प्रतिभालाई ‘टर्च’ बालेर खोजिरहेको बेला झुलुक्क भेटिएका प्रतिभा हुन्, खेमराज गाउँले । खेमराजका मुक्तकहरुबारे एकछिन पछि चर्चा गरौंला । यतिखेर म उनी साहित्यको हुलमा टाढैबाट दृष्टिगोचर हुनुका कारण भन्न चाहन्छु । रोल्पाको खुमेल—५ मा जन्मिएका खेमराज थापामगरलाई हामी साहित्यको क्षेत्रमा खेमराज गाउँलेको नामले चिन्दछौं । २०४४ साल असोज २ गते जन्मेका यी २६ वर्षे लक्का जवान हाल रोल्पाको लिबाङस्थित जलजला बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् र अध्ययनका साथसाथै समाजसेवा, पत्रकारिता र साहित्यलाई पनि सँगसँगै अघि बढाइरहेका युवा छन् । ललित साहित्य परिषद्, राप्ती साहित्य परिषद्, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, रोल्पा युनेस्को क्लव र जलजला पोष्ट राष्ट्रिय साप्ताहिकजस्ता निकायहरुमा रहेको उनको संलग्नताबाट उनको बहुमुखी प्रतिभालाई पुष्टि गरेको छ । उनी कम बोल्ने, मृदुभाषी, हँसिला, फरासिला र जिम्मेवारीको कामलाई खुरुखुरु सम्पन्न गर्ने इमान्दार युवा हुन्, तर केही मात्रामा उनी अन्तर्मुखी स्वभावका पनि देखिन्छन् । सायद यही कारणले उनलाई साहित्यतर्फ उन्मुख गराएको हुनुपर्छ ।
 
खेमराज गाउँले रोल्पामा बसेर जति सिर्जनशील कर्ममा सक्रिय छन्, त्यति नै निरन्तर मेरो सम्पर्कमा छन् । हामी २ सय ६० किलोमिटरभन्दा बढीको दूरीमा बसेका भए पनि म उनको सिर्जनयात्राको मौन साक्षी बनेको छु, केही वर्षदेखि । उनको कलमले साहित्यका हरेक विधामा पोखिन मन गरे पनि गजल र मुक्तकमा उनको कलम फररर दौडिरहेको छ । यतिखेरको प्रसङ्ग हो, खेमराज गाउँलेको मुक्तककारिता ।
 
खेमराज आफूले महसुस गरेका, देखेका, भोगेका र व्यहोर्नु परेका कुरालाई मुक्तकको रुप दिएर पोख्न आतुर देखिन्छन् । अनुभवको त्यो निष्कर्ष कसरी र कस्तो रुपमा पोखिन्छ ? त्यसमा ज्यादा ख्याल नगरी त्यसलाई पोखीहाल्ने हतार उनमा देखिन्छ । यस्तो मनोदशामा लेखिएका रचनाहरु शास्त्रीयताको कसीमा राख्दा कमजोर देखिन गए पनि हृदयको नजरबाट हेर्दा त्यसभित्र हामी हार्दिकता र मौलिकताको मिठास भेट्दछौं । उनको निश्छलता र हार्दिकताले ओतप्रोत भएको यो मुक्तक हेरौंः
जूनकीरीझँै ज्योति बाली अँधेरीमा आऊ
हिमाली ती पाखा अनि पखेरीमा आऊ
तिमीले त्यो धनको घमण्ड त्याग अनि,
मलाई भेट्न मेरै गाउँको कटेरीमा आऊ ।
 
नेपाली समाज अहिले काँचुली फेर्ने दौरबाट गुज्रिरहेको छ । समाजमा जहिले पनि पछाडि परेका र पारिएका विपन्न, असहाय र निमुखा मानिसहरु आफ्नो स्थान र पहिचान खोजिरहेका छन् । राजनीतिज्ञ र एनजिओकर्मीहरु यसैलाई अधिकार भन्दै होहल्ला गर्दै आफ्नै दुनो सोझ्याइरहेका छन् । कवि यो बेला मौन रहन सक्दैन र स्वार्थविहीन भएर कविले यिनै विपन्न, असहाय र निमुखा मानिसहरुको आवाज बोल्ने गर्छ । कविको आवाज नेताको जस्तो र रुप एनजिओकर्मीको जस्तो हुँदैन । कवि त वास्तवमैं परिस्थितिमा सुधार आओस् नै भन्ने आशयले बोलेको हुन्छ । खेमराजले पनि यो दायित्व निभाएका छन्, यसरीः
आँसुविनाको त रात छैन यहाँ
एक्लै अगाडि बढ्ने आँट छैन यहाँ
अझै पनि जातीय भेदभाव किन ?
मान्छेभन्दा ठूलो त जात छैन यहाँ ।
 
कहिलेकाहिं खेमराजलाई यौवनका लहर, कहर र रहरहरुले पनि जिस्क्याउन खोजेको भान पार्छन्, उनका मुक्तकहरुले । यौवनको प्रभावबाट प्रभावित नहुने मान्छे यो संसारमा विरलै भेटिन्छन् । कसैले यौवनका रहरहरुसित हार खाएर जीवनका अन्य पक्षलाई नजरअन्दाज गर्छन् भने कसैले यौवनका प्रभावहरुलाई आफ्नो जीवनको लागि उपयोगी बनाउने प्रयास गर्छन् । खेमराज भने यो विषयमा अलि अलमलमा देखिन्छन् । तैपनि यिनलाई उनको यौवनले यस्तायस्ता मुक्तक लेखाउन भने सघाएको छ ः
प्रेमको खेल हारेर रोएँ
एक्लै आँसु झारेर रोएँ
बिर्सन मन त थिएन मेरो,
तिमीले माया मारेर रोएँ

मुक्तककार खेमराज गाउँलेका मुक्तकहरुमा यस्तैयस्तै जीवनका अनेक विषय, अनेक सन्दर्भ र अनेक प्रसङ्गहरु भेटिन्छन् । यिनले मुक्तक कसरी लेख्ने भन्ने कुरा थाहा पाइसकेका छन् । अब मुक्तकमा के दिने ? र कसरी तर्कसंगत किसिमले दिने ? भन्ने कुरामा अलिकति थप मेहनत गर्न जरुरी छ । आफ्ना मुक्तकलाई उनले जति बढी अर्थपूर्ण, सभ्य, सन्देशमूलक र घतलाग्दा बनाउन सक्छन्, उनको मुक्तककारिताको भविष्य त्यसैमा निर्भर रहनेछ । यतिखेर म आफ्नो पहिलो मुक्तककृतिको तयारीमा लागेका यी युवा, उत्साही र भावुक स्रष्टालाई विधागत सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु, यिनै शब्दबाट ।
(२०७० असार २२, नेपालगञ्ज) girikhagendrakopila@gmail.com
मनभित्रको मन मुक्तकसङ्ग्रहको भूमिकाबाट 

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal