Breaking News
Loading...

‘सीमावारि सीमापारि’ गजलसङ्ग्रहको विक्रीबाट उठेको रकम ‘सीमावारि सीमापारि अक्षयकोष’ स्थापना गरिने भएको छ । उक्त अक्षयकोषका लागि गजलसङ्ग्रहभित्रका १५ जना गजलकारहरु र गजलसङ्ग्रहका भाषासम्पादक डी.बी. टुहुरोले सुरुमा ५/५ हजार गरी ८० हजार जम्मा गर्ने बताएका छन् । बुधबार लिबाङमा सम्पन्न गजलसङ्ग्रहको परिचर्चाको कार्यक्रममा उनीहरुले यस्तो घोषणा गरेका हुन् । गजलसङ्ग्रहको प्रकाशक रहेको ललित साहित्य परिषद्, रोल्पामा अक्षयकोष स्थापना गरिने छ । अक्षयकोषको व्याजबाट आउने रकमले वर्षभरिमा जिल्लाबाट प्रकाशन भएका उत्कृष्ट एउटा कृति छनौट गरी ‘सीमावारि सीमापारि पुरस्कार’ प्रदान गरिने बताइएको छ । 

कार्यक्रममा डी.बी. टुहुरोले सङ्ग्रहभित्र रहेका ९ जना गजलकारहरुको गजलमाथि समीक्षा गरेका थिए । सङ्ग्रहभित्र सीमापारि अर्थात् खाडी मुलुकका कर्ण गिरी, केशव पुनमगर ‘मितज्यू’, द्रार्णाचार्य बुढामगर ‘कान्छा’, नौलोदीप मगर, बाबुलाल बुढा ‘ढाङढुङे’, महेश ककटेल, मालबहादुर वली ‘मिलन’, वसन्त घर्तीमगर ‘अभिषेक’ र समीप बैरागी छन् । संग्रहभित्र रहेका सीमावारिका ४ जना पुरुष गजलकारहरु खेमराज गाउँले, नवीन लोचनमगर, कमल विवश मगर र मनप्रसाद पुनको गजलहरुको समीक्षा गोकर्ण पुनले गरेका थिए । त्यस्तै संग्रहभित्रका २ जना नारी गजलकारहरु देवी गुरुङ र सर्मिला रोकामगरका गजलहरुको समीक्षा केवी विरहीले गरेकी थिइन् । गजलभित्र परदेशीनुको पीडा, परदेशको पीडा, देशप्रतिको माया, संविधान नबन्नुको चिन्ता गजलमा समेटिएको समीक्षकहरु बताएका छन् ।

परिषद्का मानार्थ सदस्य एवं सल्लाहकार गौरीकिरण डाँगीको प्रमुख आतिथ्यतामा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । गजल भन्ने शब्द माया र प्रेमसँग सम्बन्धीत भएकोले गजलसंग्रह एक्लै निकाल्दा एउटाको मात्र भावना व्यक्त हुने कार्यक्रममा प्रमुख अतिथि डाँगीले १५ जनाको फरक फरक प्रेमभावना आउनुले संग्रह उत्कृष्ट रहेको बताए ।

 परिषद्का सदस्य नारायण रेग्मी ‘जिज्ञासु’को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, गजलसङ्ग्रहभित्रका गजलकारहरुको तर्फबाट खेमराज गाउँले र देवी गुरुङ बोलेका थिए । परिषद्का अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचनमगरले गरेका थिए । 
















1 प्रतिक्रिया:

Khemraj Gaunle / Khumel, Rolpa, Nepal