Breaking News
Loading...

हीरा सर । चिटिक्क ढाकाटोपी लगाउनुभएका । गहुँगोरो वर्ण । उमेर अग्लो पनि होइन, होचो पनि होइन, ठीक्कको । हल्का जुङ्गा पाल्नुहुथ्यो ।  उहाँले हामीलाई गणित निकै बुझाएर पढाउनुहुन्थ्यो ।

मैले बालापन सम्झने प्रयास गदैछु । मैले पढाइको सुरुवात खुमेल–६, गोठमारेमा रहेको गणेश प्राथमिक विद्यालयबाट गरेको हुँ । म अलि ठूलो भएपछि विद्यालय गएको हुँ । ८ वर्षको हुँदा कक्षा १ मा भर्ना भएको थिएँ । त्यसैले पनि मैले अलिअलि भए पनि सम्झन्छु, त्यतिबेलाको ।

हाम्रो समाजमा अझै पनि जातीय विभद छ । मान्छेहरुबीचमा पनि माथिल्लो र तल्लो जात भनिन्छ । तल्लो जातमा मान्छेहरुले छुएको माथिल्लो जातले खाँदैनन् । यो मैले सानैदेखि देख्दै आएको छु । अझै पनि देखिरहेको छु । जातीय विभेद गर्नुहुँदैन भन्ने सबैलाई थाहा छ । तर पनि भइरहेको छ, हाम्रो समाजमा ।

यस्तै अवस्था उतिबेला झन थियो । हाम्रो विद्यालयमा दलित विद्यार्थी थोरै थिए । हाम्रो कक्षा त दुई जना थिए, धाती कमिनी र मिनु दमिनी । नाममा विक र नेपाली लेखे पनि हामीले बोलाउँदा कमिनी र दमिनी भनेरै बोलाउँथ्यो । हामीभन्दा अलि साना नै थिए ।

सबैले हेला गर्थे । कमिनी र दमिनी भन्दै गाली गर्थे । कुट्थे । हामीभन्दा छुट्टै बसाल्थ्यौं । उनीहरु नबोलेरै बस्थे । गाली सहन्थे । कुटेको बेला रुन्थे । सरलाई भनिदिहाले भने पछि फेरि साथीहरुले किन भनिदिएको भन्दै कुटिहाल्थे । त्यसैले सहनु विकल्प थिएन, उनीहरुलाई ।

हामी स्कुल जान एक घण्टा टाढा जानुपर्थ्यो । चौरपानीबाट बीचबाटोमा जंगल भएर गोठमारे जानुपर्छ । त्यसैले हामी सधैं खाजा, रोटी झोलामा बोकेर पढ्न जान्थ्यौं ।

लिउमन मामा हाम्रो कक्षाका सबैभन्दा बढी उमेरका र अलि ठूला पनि थिए । उनी मेरै गाउँका मामा साइनो पर्छन् । कक्षाका मानिटर नै थिए, उनी । एकदिन लिउमन मामाको झोलाको रहेको रोटी मिनु दमिनीले छोइदिएछिन् । कक्षाभरि हल्ला फैलियो ।

‘यो दमिनीले किन मेरो रोटी छोइदियो ।’ भन्दै मामाले मिनुलाई कट्न थाले । कक्षाका सबैले दमिनीले छुन नहुने भन्दै ‘हो’मा हो थपे । मिनुले प्रतिकार गरिनन् । अति भएपछि दुखाइले होला, उनी ठूलो आवाजमा रोइन । उनी रोएपछि ‘के भयो ?’ भन्दै हिरा सर कक्षा कोठामा प्रवेश गर्नुभयो ।

हामी सबै चुप बस्यो । मिनु दमिनी झन चर्को स्वरमा रोइन् । उनले रुँदै सरसँग सबै कुरा पोखिन् । हिरा सरले सबै कुरा बुझ्नुभयो ।

‘ए, लिउमन । भन त तिम्रो रोटी यसले छोएकै हो ?’

‘हो सर । छोएकै हो ।’

‘रोटी टोकिदियो कि छोएको मात्रै हो ?’

‘छोएको मात्रै हो, सर ।’

‘उसो भए जुठो लागेको रहेनछ त ।’

‘जुठो त लागेकै छैन सर तर दमिनीले छुएको खानुहुन्न सर ।’

‘कसले भन्यो दमिनीले छोएको खानुहुन्न भनेर ?’

‘हाम्रो गाउँमा सबैले यस्तै भन्छन् सर ।’

यतिका भन्दा पनि लिउमन मामाले दमिनीले छोएको नखाने नै जिद्दी गर्नुभयो । कक्षाका हामी सबै नबोले पनि उनै लिउमन मामाकै कुरामा सहमत नै थियौं ।

हिरा सरले हामी सबैलाई बुझाउने प्रयास गर्नुभयो । उहाँले भन्नुभयो– ‘खै मिनुले छोएर रोटी लेऊ त मलाई ।’
मामाले झोलामा रहेको रोटी सरलाई दिए । हिरा सरले त्यो रोटी मिनु दमिनीलाई फेरि छुन दिनुभयो । त्यसपछि आफैले लिएर कपाकप पो खानुभयो ।

‘मैले मिनुले छोएको राटी खाएँ । रोटीको स्वाद त फेरिएको छैन । मीठो नै छ त । म त क्षेत्रीको छोरा हुँ । दमिनीले छोएको खाइदिन्छु । तिमीहरुले खाँदा झन के हुन्छ र । तिमीहरु त झन साना छौ ।’ हिरा सरले अझै भन्नुभयो–‘हामी सबै मान्छे हो । तल्लो जात माथिल्लो जात भन्ने त हामी मान्छेले नै बनाएका हौं । त्यसैले सानो जात भनेर कसैले पनि हेला गर्नु हुँदैन । मिलेर बस्नुपर्छ । मिलेर पढ्नुपर्छ ।’

‘फोहोरी मान्छेले छोएको खानु हुँदैन । फोहोर खानेकुरा पो खानु हुँदैन ।’ उहाँले अझै स्पष्ट पार्दै भन्नुभयो– ‘अब त सबैले बझ्यौ होला । जो मान्छे फोहोर छ, जो मान्छे सफा हुँदैन उसैले छोएको नखाने अब है ? त्यसैले मिनुलाई कसैले हेला नगर्ने । मिलेर पढ्ने है ?’

कक्षा शान्त भयो । मिनु पनि रुन छाडिसकेकी थिइन । त्यति भनेपछि हिरा सर बाहिरिनुभयो ।

सधैं गणितका पाठहरु बुझाएर पढाउने हिरा सरले त्यसदिन हामीलाई जातीय विभेद हुँदैन भन्ने पाठ राम्रोसँग सिकाउनुभयो ।

त्यसै दिनदेखि मिनु दमिनीले त्यति सास्ती खानु परेन । कुटाइ पनि त्यति खानु परेन । धाती कमिनीले पनि त्यतिका दुःख सहनु परेन ।

कहिले औंला ठड्याउँदै अंक सिकाउने । कहिले औंला भाँच्दै जोड घटाउ सिकाउने हिरा सरले त्यसदिन रोटी भाँच्नुभयो । मिनु दमिनीलाई छुन लगाउनुभयो । अनि आफैले खानुभयो । त्यसदिन उहाँले हामीलाई छुवाछुटको पाठ सिकाउनुभयो । छुवाछुट हुँदैन भन्ने कुरा त्यसैदिन मैले मज्जाले सिकें । त्यही दिनदेखि मैले जातीय विभेद गर्दैन । छुवाछुट पनि गर्दैन । मैले मेरो जीवनभर काम लाग्ने पाठ त्यसै दिन सिकें ।
  • खेमराज गाउँले/लिबाङ, रोल्पा (२०७० पौष १९)

3 प्रतिक्रिया:

Khemraj Gaunle / Khumel, Rolpa, Nepal