Breaking News
Loading...

खेमराज शर्मा
कुनैबेला क्रान्तिको उर्वरभूमिको नामले पुकारिने रोल्पा आजका दिनमा गजलको उर्वरभूमिको नामले पनि चिनिन थालेको छ । देश शान्ति प्रक्रियामा प्रवेश गरेपछिको समयमा रोल्पामा गजल लेखन र प्रकाशनको बाढी नै आएको छ । खासगरी युवा साथीहरू गजल लेखन र प्रकाशनमा लागिपर्नु भएको छ । युवाहरूमा पनि जनजाति समुदायका साथीहरूमा अझ बढी क्रियाशिलता देखिएको छ । यो निकै खुसीको विषय पनि हो ।

नेपाली साहित्यक भण्डारमा प्रवेश गर्ने समयमा प्रेम प्रणयको भावलाई मात्र आत्मसात गरेको यस गजल विद्याले आजका दिनमा सामाजिक जनजीवनका विविध पक्ष र क्षेत्रलाई अङ्गाल्नु पनि उत्तिकै श्रेयस्कर मानिन्छ । जनजीवनका हर्ष, पीडा, सुख दुःख सबै पक्षमा समान रूपले लेखिन थालिएको छ । गजल यस विद्याले सामाजिक र राष्ट्रिय जीवनका त्यसैगरी उच्च राजनीतिक तहका व्यथिति र विसंगतिप्रति तीखा शब्दवाण हान्न चुकेको छैन । त्यसैगरी प्रकृति, प्रेम र मनोरञ्जनका भाव र विषयवस्तुलाई उठान गर्न पनि छाडेको छैन ।

मान्छे दुई प्रकारका भोकले पिरोलिइरहेको हुन्छ । मानवीय चेत न्यून भएका मान्छेलाई त उदरको भोक शान्त पार्न पाए सबै पुग्दछ । मानवीय चेत भएका, परिवार, समाज र देशप्रति मननशील अनि जिम्मेवार व्यक्तिलाई भने उदरको भोकले मात्र नभएर ज्ञान र कलाको भोकले समेत सताइरहको हुन्छ । प्रकृतिक वा मानवर्ग सिर्जित कलाले ज्ञानको भोकलाई शान्त पार्न सक्दछ केही समयका लागि । मान्छे स्वयम् पनि प्राकृतिक कलाको नमूना हो ।

मान्छे स्वयम् सुन्दर छ, कलापूर्ण छ, प्रेमिल छ, ज्ञानी छ, परोपकारी छ र त यस्तै कुराको खोजीमा दिनहुँ, तल्लीन छ । मान्छेले हरेक कामबाट सौन्दर्य एवम् कलाको अनुभूत गर्नसक्छ ।

कृतिः जीवनका गोरेटाहरु विधाः गजल गजलकारः भागीराम घर्तीमगर प्रकाशकः ललित साहित्य परिषद्, रोल्पा मूल्यः रु. ८५
मानव सिर्जित विविध कलाहरूमध्ये साहित्य पनि एक महत्वपूर्ण कला हो । साहित्य सामाजिक समृद्धिको ऐना पनि हो । जुन समाजमा साहित्य मौलाएको हुन्छ, पक्कै पनि त्यो समाज शिक्षा, संस्कृति र सभ्यतामा अग्रणि हुन्छ ।

जीवनका गोरेटोभित्र सुन्दर फूल, वन र कङ्क्रिट पत्थर मात्र हुँदैनन्, त्यहाँ त तीखा काँडा पनि हुन्छन् । फूललाई स्पर्श गर्नु मात्र जीवनको सौन्दर्यता होइन, काँडाको बिझाइबाट उत्पन्न पीडा बोध गर्नु पनि सौन्दर्यता हो । यहाँ चर्चा गर्न थालिएको विषय भने बुढागाउँ, रोल्पा निबासी भागीराम घर्तीमगरद्वारा रचित गजलकृति ‘जीवनका गोरेटाहरू’को हो । गजलको नाम निकै सार्थक र सान्दर्भिक देखिन्छ । जीवन एउटा गोरेटो पनि हो, यो एक विन्दूबाट आरम्भ भएर अर्को विन्दूमा समाप्तिमा टुंगिन्छ । प्रस्थान, मिलन, विछोड र समाप्ति यसका नियमीहरू हुन् । गोरेटोभित्रका उकाली–ओराली, हर्ष र सुस्केराहरू यसका संगीत हुन् । गोरेटाभित्र भेटिने सुन्दर छहरा र छाँगाहरू मात्र यसका प्राप्ति होइनन् । गोरेटाभित्र उचालिएका पाइलाहरूमा लाग्ने रक्ताम्मे चोटहरू पनि यसका भागिदार हुन् ।

नवयुवक एवम् नवस्रष्टा भागीरामको प्रयास सह«ानीय छ । जीवनभर साधना गरेर पनि मान्छे पूर्ण साहित्यक बन्न सक्दैन, जान्ने सिकारू मात्र बन्नसक्छ । भागीरामजीहरूले आफूभित्र पूर्णता खोज्नु ठीक नहोला । गोरेटाभित्रका सिकारू यात्रीहरू आत्तिने र मात्तिने गर्नु ठीक नहोला । प्रयास निरन्तर गर्दै जानुपर्छ । साहित्यिक साधना भनेकै निरन्तरता हो ।

भागीरामजीको सानो पुस्तकभित्र धेरै कुरा समेटिएको छ । ‘जीवनका गोरेटाहरू’मा वहाँले, प्रेम, निराशा, विरक्ति, रूप, विश्वासघात, वियोग, पीडा, धोका सबैथोक पाउनु भएको छ । सबैभन्दा दुःखको कुरा वहाँ प्रेमबाट धोका हात पार्नुभएको छ । पूर्वप्रेमीसित बिताएका अविस्मरणीय दिनको सम्झना गर्नुभएको छ कतै भने आधुनिक सञ्चारले जन्माएका विकृतिहरूसित सजग बन्न आग्रह गर्नुभएको छ ।

भागीरामजी एकजना मित्रले धोका दिनसक्छ । यसमा तपाई विचलित नहुनुहोस् । गोरेटाभित्रको यात्रामा अरू सच्चा मित्र पनि तपाईसित आत्मा जोड्न आउन सक्छन् आस धेरैसित गर्नुहोस तर भर थोरैसित मात्र पर्नुहोस् ।

आगामी दिनमा आफ्ना रचनाहरूमा भाषिक मीठासता पस्कन र कलात्मक विधि अपनाउन नभुल्नू होला । समग्रमा भन्नुपर्दा पुस्तक आकर्षक, पठनीय र सङ्ग्रहणीय छ । गजलकार भागीरामको लेखनी अफ तेजिलो चंकिलो बन्दै जाओस् ।
२०७१ फागुन १८ गतेको सुनछहरी साप्ताहिकमा प्रकाशित समीक्षा । 
- Uploaded by Khemraj Gaunle

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal