Breaking News
Loading...

Info Post
रेडियो सुन्ने रुचि सानैदेखिको हो । निमावि तहको शिक्षा पूरा नगर्दासम्म मैले गाउँकै स्कुलमा पढेको हुँ । गाउँमा बस्दा निकै रेडियो सन्थेँ । दाईको घरमा रेडियो हुन्थ्यो । स्कूलबाट फर्केपछि र बिहान स्कूल नजाँदासम्म म रेडियो सुन्न दाईको घरमा जान्थें । त्यतिबेला ‘रेडियो नेपाल’ मात्र सुनिन्थ्यो ।
पछि मात्रै हो, जिल्ला जिल्लामा रेडियो खुलेको । जिल्ला जिल्लामा एफएम रेडियोहरु खुलेपछि मेरो गाउँमा प्रायः जसो पाल्पातिरका एफएमहरु सुनिन्थ्यो । गाउँमा निम्न माध्यमिक तहको पढाइ पूरा गरेपछि मावि तहको पढाइका लागि गाउँभन्दा टाढा जानुपर्ने भयो । त्यसपछि म पढाईका लागि २०६२ सालमा लिबाङ झरेँ, गाउँबाट ।

लिबाङमा डेरा गरी बस्न थालेँ । साथीहरु थिए तर कोठामा बस्दैन थिए । फुर्सद भयो कि बजार डुल्न हिडिहाल्थेँ उनीहरु । कोठामा म मात्र एक्लो हुन्थेँ । कोठामा किताब कापीलाई साथी बनाएर बसियो धेरै दिन । पछि रेडियो किन्ने सोच बनाएँ । तर लिबाङ खाल्डोमा रेडियो सुनिदैनथ्यो । गाउँमा रेडियो सुन्न जानलाई म शुक्रबारको दिन गनेर बस्थेँ । तैपनि रेडियो किनेँ । बेलुकीपखदेखि मात्रै रेडियो नेपाल टिप्थ्यो र सुन्थेँ एक्लै । त्यतिबेलासम्म रेडियो मेरो साथी बनिसकेको रहेछ । त्यसरी रेडियो सुनिरहँदा मैले सोचेको पनि थिएनँ कि म पनि कुनै दिन रेडियोमा बोलूँला भनेर । किनकि रेडियो स्टेशन मबाट धेरै टाढाको दूरीमा थियो ।
 
लिबाङमा बस्दाबस्दै २०६५ सालको साउन ९ गते रेडियो रोल्पा ९३ दशमलब ८ मेगाहर्ज खुल्यो । रेडियोमा काम गर्ने प्रायः साथीहरु पहिलेदेखि नै चिनेको हुनाले रेडियोमा छिर्न मलाई कुनै गाह्रो भएन । म साहित्यप्रेमी पनि भएको हुनाले यस्तो अप्ठ्यारो नभएको हो । म लिबाङमा बस्दा ‘रोल्पा आवाज’ भन्ने पत्रिका निस्क्यो । अहिले बन्द छ । पाक्षिक रुपमा प्रकाशित हुने
सो पत्रिकामा प्रायः गजल, कविता, गीत, मुक्तकहरु पठाइरहन्थेँ । छापिन्थ्यो पनि । त्यसरी हो मेरो चिनजान भएको खेम बुढा, काँशीराम डाँगी, धरेन्द्र डाँगी, घनश्याम आचार्यहरुसँग । रोल्पा आवाजमा काम गर्ने साथीहरुले नै रेडियो चलाएपछि मलाई रेडियोसँग परिचय गर्न गाह्रो नभएको हो ।

रेडियोमा त छिरेँ, तर म ‘मगर’को छोरा भएको हुनाले नेपालीमा शुद्धता थिएन । मैले गर्वका साथ भन्छु, मलाई बोल्न ‘रेडियो रोल्पा’ले सिकाएको हो । यद्यपी ममा अझै भाषिक शुद्धतामा पूर्णता छैन तर गलत बोलेँ भनेर छुट्याउन सक्छु । भाषिक अशुद्धता भएपनि साथीहरुले कहिल्यै मैले चलाउने कार्यक्रमलाई नराम्रो छ भनेनन् । रेडियो रोल्पामा मैले २०६५ कात्तिक महिनाबाट मुक्तक सम्बन्धि कार्यक्रम ‘मुक्तक संसार’ चलाउन थालेँ । मैले कार्यक्रम चलाएको लगत्तै साथीहरुले चलाउने कार्यक्रमहरुमा पनि ‘संसार’ जोडेर चलाएपछि मैले कार्यक्रमको नाम फेरेँ । पछि कार्यक्रमको नाम ‘नफक्रेका फूलहरु’ राखेर चलाएँ । कार्यक्रम चलाउँदै कार्यक्रम सँगसँगै समाचारतर्फ लागेँ । विषेश गरी रेडियो रोल्पामा ३ बर्ष समाचार सम्पादन, लेखन र रिपोर्टिङमै बिताएको छु । डायरी, कलम र रेडकर्डर हातमा बोकेर ३ बर्ष हिडेको अनुभव छ मसँग । हिजो समाचार नसुन्ने मान्छे आज समाचार चिन्ने भइसकेको छु । रेडियो रोल्पाले नै मलाई सिकाएको हो । रेडियोकै संगतले गर्दा आज म संसारसँग नजिकिएको छ । सँसार देखाइदिएको छ मलाई रेडियोले ।

रेडियो रोल्पाले मलाई २०६६मा रेडियो पत्रकारिता तालिम दियो । सोही बर्ष दाङमा ‘सामुदायिक रेडियोमा रेडियो पत्रकारिता’ तालिम सिक्न पनि रेडियोले नै पठायो । पछि २०६७ मा एन्टेना फाउन्डेसन नेपालले काठमाण्डौमा दिएको ‘रेडियो रिर्पोटिङ तथा फिचर लेखन तालिम’ पनि लिएँ । यसरी रेडियो रोल्पाले मलाई एउटा दक्ष रेडियोकर्मी बनाउनमा निकै सहयोग गरेको छ । रेडियोको यो गुणलाई म कहिल्यै बिर्सन्न । रेडियोले मलाई रेडियोकर्मी बनाए पनि आज म ‘स्रोता’ बनेको छु । म यथास्थानमा फर्केको छु । 

मैले ३ बर्ष रेडियोभित्र बसेर रेडियो सुनेँ, सुनाएँ । तर आज रेडियो बाहिर बसेर रेडियो सुनिरहेको छु । किनकि रेडियो सुन्ने रहर अझै मरेको छैन । स्थापना हुँदा विहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो ५ बजेदेखि ९ बजेसम्म बज्ने रेडियो आज आएर बिहान ६ बजेदखि राति १० बजेसम्म बज्ने भइसकेको छ । अझ अहिले त इन्टरनेट पहुँच भएकाहरुलाई त संसारको जुनकुनै कुनामा बसेर पनि रेडियो रोल्पा सुन्न सकिने भएको छ ।

आज रेडियोले स्रोता खोज्दै संसार डुलिरहेको छ । तर मलाई स्रोता हो भनेर चिनेको छ या छैन । मलाई थाहा छैन । रेडियो सुन्नुमा पनि मेरा आफ्नै बाध्यता विवशताहरु छन् । ती आफ्नै ठाउँमा छन्, रहन दिनुपर्छ । रेडियो रोल्पाले भर्खर त ३ बर्ष पूरा गरेको छ । बालावनमै यसको बारेमा टिकाटिप्पणी गर्नु हुँदैछ । यसलाई बरु राम्रो कुराहरु सिकाउनुपर्छ । हुर्काउनुपर्छ ।
अस्ति (रेडियोमा पस्नुअघि) म स्रोता थिएँ, हिजो (रेडियोमा काम गर्दा) म रेडियोकर्मी भएँ र आज (रेडियोभन्दा बाहिर बस्दा) फेरि स्रोता बनेको छु । रेडियोमा बोल्दा पनि खुसी थिएँ । आज रेडियो सुन्दा पनि खुसी छु । रेडियो भित्र रहेपनि, रेडियो बाहिर बसे पनि रेडियो रोल्पालाई गर्ने मेरो माया उही हो । मात्र अस्ति, हिजो र आजको दिन फेरिएको छ । मेरो दिनचर्या फेरिएको छ । जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो रोल्पाले आफ्नो तेस्रो वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा हार्दिक शुभकामना । अझ बढी प्रगतिको कामना । समुदायका आवाजहरु बोलिरहनु निरन्तर, निरन्तर ...........
 

धन्यबाद ।।
खेमराज गाउँले
साउन ९, २०६८/लिबाङ, रोल्पा 

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal