Breaking News
Loading...

Info Post
यो शहरमा अझै मैले गाउँ भेटिनँ
चोट कहाँ छ पिरतिको घाउ भेटिनँ ।

आआफ्ना स्वार्थमा बाँचेका छन् मान्छेहरु,
मनको भारी बिसाउने ठाँउ भेटिनँ ।
पश्चिमी स‌स्कृति आएर पो हो की,
अचेल प्रेमको निश्चित भाउ भेटिनँ ।
करोडौको कुरा गर्नेहरु बस्छन् यहाँ,
सय गन्ने मेरो गाउँको साहु भेटिनँ ।
गरिब र धनीबीचको विभेदलाई,
तराजुमै जोख्ने थिएँ पाउ भेटिनँ ।
१६ असोज २०६६

आफूलाई दु:ख पर्दा साथ खोज्दै रुन्छन् मान्छेहरु 
अरुलाई द:ुख पर्दा कति स्वार्थी हुन्छन् मान्छेहरु ।
अरुले गरेको प्रगति त कसैले देखि सहन्नन्,
आफन्तकै षड्यन्त्रका जालहरु बुन्छन् मान्छेहरु ।
राम्रो नेताको कुरा होइन काम राम्रो हुनुपर्छ,
राम्रो कुरा जसले गर्छ, उसैलाई चुन्छन् मान्छेहरु ।
जसले जे भन्यो उसैको कुरा विश्वास गर्नु हुदैन,
नबुझेरै दुनियाँका कुराहरु सुन्छन् मान्छेहरु ।
सफल भएपछि विर्सन्छन् आफ्नै सहयोगीलाई
उसैको साथले गर्दा नै शिखर छु्न्छन् मान्छेहरु ।
१४ असोज २०६६

जीत मात्र होइन यहाँ हार पनि हुनसक्छ
मन मिले दुबैको सरकार पनि हुनसक्छ ।
मनपेट मिलेपछि कस्ले रोक्न सक्छ हजुर,
तिम्रो र मेरो अब घरबार पनि हुनसक्छ ।
धाक धम्की हैन कसैको, स्वतन्त्र भै बाँच्नुपर्छ,
सबैको आ आफ्नै छुट्टै संसार पनि हुनसक्छ ।
आफ्नै मनभित्रको पीडाले छट्पटी रहदा,
तिमीले हेरिदिए उपचार पनि हुनसक्छ ।
तिम्रो झुटो आश्वासनमा बस्दैन गाउँले अब
निर्णय लिदैंछु, की वार की पार पनि हुनसक्छ ।
४ असोज २०६६


मंसिरमा पञ्चेबाचा बजाउने पालो तिम्रै हो
डोलीभित्र घुम्टो ओढी लजाउने पालो तिम्रै हो ।
तिमीलाईं पुग्ने माया मैले पनि दिएकै हुँ,
अर्कैको माया पाएर अघाउने पालो तिम्रै हो ।
दु:ख मेरो लागि साथी बनिसकेको छ अचेल,
मेरै दु:ख हेरि रमाउने पालो तिम्रै हो ।
मलाईं रुवाए पनि, उनलाईं खुसी दिनु है,
ती आफ्नै हजुरलाईं हसाउने पालो तिम्रै हो ।
गरिबीले गर्दा गाउँले आज टाढा हुनपुर्यो,
सिन्दुर पनि अर्कैको लगाउने पालो तिम्रै हो ।
२ असोज २०६६

खेमराज गाउँले khemraj.gaunle@gmail.com

0 प्रतिक्रिया: