Breaking News
Loading...

Info Post
(कुनै जमाना थियो ममा पत्रमित्रता गर्ने रहर । धेरै साथी बनाइयो पत्रबाट । आज पनि थोरैलाई निरन्तरता दिएको छु । यसैक्रममा दाङका साथीले पठाउनु भएको पत्र आज पनि संझनामा छ । हस्तखित त्यो पत्र मेरो साथमा सुरक्षित छ । तपाई पाठकका माझ उहाँले लेख्नु भएको त्यो पत्र ।)
देवका विके 'चाहना'/दाङ
स्यूजा दाङ
मिति ८ असोज २०६५
बेलुका ९ बजे
आत्मीय पत्रद्वारा परिचित मित्र साथी खेमराज जी,

    क्षितिजपारीबटै भए पनि यो रात्रीकालिन प्रहरमा अल्पकालीन जीन्दगीको दिर्घकालिन सम्झनाका साथै ।
हाम्रो आगनीमा आईरहेको शुभ विजया दशमीको पावन अवसरमा तपाईको सुस्वास्थ्य एवम् दिर्घायुको कामना अनि उत्तरोत्तर प्रगतिको कामना तपाईमाझ समर्पण गर्दै लाखौ लाख शुभ कामनाका पुष्प गुच्छाहरु व्यक्त गर्न चाहन्छु स्वीकारी दिनुहोला ल.............।

    सर्वप्रथम त तपाईकै आशिर्बादले गर्दा म लगायत मेरा आमा, भाइ भनौं या मेरो सम्पूर्ण परिवारमा आरामै छौं । त्यहाँ तपाईको कोमल शरीरमा पनि सुस्वास्थ्यको कामना गर्दै आरामताको कामना गर्न चाहन्छु । साथमा तपाईको सम्पूर्ण परिवारमा साइनो अनुसारको नमस्कार तथा शुभ प्यार ।

    मित्र खेमराज जी,
    विशेष पत्र लेख्नुपर्ने मुख्य उद्देश्य त आखिर के नै थियो र,  मात्र तपाईकै सम्झना अनि पत्रमित्रताको दिगो साइनोले गर्दा आज फेरि तपाईकै संझनामा निर्दोष कलम कापीको सहारामा पत्र सम्प्रेषन गर्दैछु । मित्र, तपाईले भदौ २३ गते लेखेको पत्र मैले भदौ २९ गते पाउन सफल भएँ । खोली हेर्दा तपाईका सुनौला अक्षरमा सजिएका सन्देशरुपी शब्दहरु मैले एकाएक गरी पढ्न पुगेँ । पत्रमित्रता र साहित्य सिर्जनामा भन्दा बढी पढाइमा ध्यान दिनुहोला भन्ने शन्देशले मलाई झस्काइदियो । मलाई नै थाहा थिएन म कुन मोडमा छु भनेर । हो मित्र,  मेरो यो उमेर भनेको पढाइमा मात्र ध्यान केन्द्रित पार्ने अनि मन कतै चनचल नगराउने हो । तैपनि यो दुखीका इच्छा र चाहना एकाएक तितरवितर हुदाँ मनलाई सान्त्वना दिन मात्र भए पनि बेदनामा साहित्यमै बहकिन मन लाग्छ । तर म आफ्नो सक्दो प्रयास गरेकै छु । एकदिन घरमा आमालाई सघाएर २ दिन स्कूल जाने गरेकी छु । दुखीले प्रयास गर्दा कसको के नै लाग्छ हैन र मित्र ?

        घरमा आफूभन्दा ठूला जान्ने मान्ने सदस्य नहुदाँ हौसला अनि आत्म मनोबल बढाइदिने ब्यक्ति नहुदाँ दुख त पर्छ नै । तर म अझै हिम्मत हरेकी छैन । कति अपाङ्गहरुले त राम्रा राम्रा काम गरेर आफ्नै खुट्टामा उभिन सक्छन् भने म पनि एउटा दुखी अनाथ नारी भएपनि केही गर्छु भन्ने आँट छ ममा । यो अन्ध विश्वास समाजलाई केही परिवर्तन गर्ने चाहना छ मेरो ।

    अँ‌‌  साँच्ची साथी यी बेदनाहरु लेख्दा लेख्दै धेरै लामो पो भएछ । कृपया झर्को नमानेर पढ्नु हुनेछ भन्ने विश्वास गरेको छु नी है ।

   साथी म तपाईलाई एउटा कुरा पनि जानकारी गराउन चाहन्छु । तपाईले मेरो  परिवार ठूलो मान्नु भयो । कुरा यो  हो की साथी,  मेरो बुवाले बहुविवाह गरेपनि हामी छुट्टै घरमा बस्छौं । हामी दिदी, भाइ, आमा र म गरी चार जना छौ । दिदीको विवाह भइसकेको छ । अहिले हामी तीन जनाको परिवार छौं । यसलाई एकल परिवार भन्ने की संयुक्त परिवार भन्ने आफैले सोच्नुहोला ।

    मीत्र खेमराज जी,
    म तपाईसंग एउटा कुरा सोध्न चाहन्छु, के मेरो बचनलाई स्वीकारी दिनुहुन्छ ? मलाई त पूर्ण विश्वास लाग्छ जबकि मेरो अन्जान पत्रलाई स्वीकारी दिनुभयो । त्यसैले म तपाईप्रति एकदमै विश्वस्त छु । मलाई लाग्छ यसपाली मेरो बचनलाई अस्वीकार गर्नुहुने छैन । मित्र, साँच्ची स्वीकार्नुहुन्छ त, म भनूँ ? यदि मेरो भनाईलाई स्वीकार हुन्छ भने म आजदेखि तपाईलाई एक आदरणीय भावनात्मक दाजुको रुपमा लिन चाहन्छु । के यसमा तपाई सहमत हुनुहुन्छ, त ?

    हुन त अन्यथा नलिनुहोला । तपाईका पनि दिदीहरु हुनुहुन्छ तर मलाई साहस दिने दाजुको खाँचो छ । त्यसैले हामी टाढा भएपनि म चाहन्छु हाम्रो सम्बन्ध एउटा दाजु र बहिनीबीच हुने नाता हुनेछ । तपाईले मलाई एउटा दाजुले निभाउने हौसला मात्र दिनुस्, मलाई त्यति मात्र भए पुग्छ ।

    लौ त मित्र लेख्दा लेख्दै पत्र धेरै लामो भएछ । मेरो वेदनालाई स्वीकारी दिए पुन: अर्को नविनतम् श्रृङ्खलामा भेट हुने नै छ । मेरो भनाई ठीक नलागे साथीको नातामा त भेट भइहाल्छ नी, हैन र ? यही कामना गर्दै पत्रबाट बिदा, तपाईको पत्रको सक्रिय सहभागिता रहिरहोस् ।

उही देवका विके चाहना

0 प्रतिक्रिया:

Post a Comment

Khemraj Gaunle / Khumel, Rolpa, Nepal