Breaking News
Loading...

Info Post

सम्पादकीय......
बाढी बनेर होइन गजल नदि बनेर बग्नुपर्छ
    यतिखेर देश गजलमय बनेको छ भन्छन गजलको बाढी आएको छ देशमा । गजलले आज रोल्पा पनि अछुतो रहन सकेको छैन । रोल्पामा गजल लेखनको इतिहास धेरै पुरानो नभएपनि थुप्रै गजलकारहरुको जन्म भइसकेको यहाँ, कारण गजल प्रेमीहरु थुप्रै छन् रोल्पामा पनि । स्व. इन्द्र यात्री, स्व. मिलन उपहार जस्ता गजलकारहरुले देखाएको बाटोमा डिवी टुहुरो, दामु मर्सिफूल, ओम पन्छी, कृष्ण डिसी निर्जन, केवी विरही, राजेश बुढाथोकी जस्ता गजलकारहरु हिडिरहनु भएको छ । त्यस्तै हौसला पाएका छौं जिल्ला बाहिरबाट खगेन्द्र गिरि कोपिला, अनिल सागर, सुरेन्द्र प्रसाद न्यौपाने आँसु, ऋषि शर्मा सुदामा लगायतका गजलकारहरुको । त्यसैको प्रतिफल हो भन्नुपर्छ गजल प्रधान पत्रिका गाउँलेको जन्म हुनु रोल्पाजस्तो ठाउँमा ।
    यतिखेरको गजल लेखनलाई बाढी भनेर धेरैले संज्ञा दिएका छन् । तर हामी यसलाई गजलको मूल फुटेको भन्छौ । किनकी बाढी खहरेहरुमा मात्र बग्ने गर्छ, र बाढी सुकेर जान्छ एकदिन । गजल यसरी सुक्नुहुन्न भन्छौ, हामी गजललाई यसरी सुक्न दिने पनि छैनौ । रोल्पाली गाउँबस्तीमा छरिएर रहेको गजलकारहरुलाई खोज्ने र तिनीहरुलाई अगाडि ल्याउने प्रयास गर्नेछौं । गजललाई नदि बनाएर छाड्छौ अनि गजल नदि बनेर बग्नेछ निरन्तर रुपमा अटुट रुपमा । नेपालीको ढुकढुकी बन्नेछ ।
    मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको सितल छहारीमा बसेर गजल लेखनमा हाम्रो बसाई जारी रहनेछ । गजल प्रधान पत्रिका नयाँ बर्षको अवसर पारेर र दशैंतिहारको अवसर पारेर बर्षमा २ वटा अंक प्रकाशन गर्नेछौं । अहिले हामीले यति मात्र सोच्न भ्याएका छौं । हामीलाई अगाडि बढ्न तपाईको साथको आवश्यक छ । गाउँलेको पहिलो अंक मार्फत तपाईको माझमा आउँन पाउँदा खुसी लागेको छ हामीलाई । त्यसैले तपाईबाट सल्लाह सुझावको अपेक्षा पनि गरेका छौं । तपाईले दिएको सल्लाह, सुझावलाई आधार बनाएर हामी अगाडि बढ्नेछौं । गाउँले परिवार तपाईको गजल लेखनीको कामना पनि गर्दछ । र आगामी अंकहरुमा तपाईको गजलहरुको अपेक्षा समेत गर्दछ गाउँलेले ।
     रोल्पाली आकाशमा उदाएका गजल मनहरुलाई सधैं साथमा लिएर अगाडि बढ्नेछ गजल प्रधान पत्रिका गाउँले । अझ भनौं मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान रोल्पा शाखा । तपाई गजल लेखनीको कामना गर्दै अन्त्यमा दुर्गा माताले रक्षा गरुन् तपाईको घरपरिवारमा लक्षय्मीमाताले बास गरुन् । बडादशैं तथा तिहार २०६६ को शुभकामना सम्पूर्ण गजलकारहरलाई, गजलमनहरुलाई, गजल प्रेमीहरुलाई र गजल अनुरागीहरुलाई ।


जदो ।
 

अन्तरबार्ता गजलकार खगेन्द्र गिरि कोपिलासंग 
      गजल साधनामा साधनारत गजलकार खगेन्द्र गिरि कोपिलाको जन्म वि.सं. २०२० साल फागुन २८ गते पिता स्व. दशरथ गिरि र माता स्व. कमला गिरिको कोखबाट छतारा देवस्थल बाजुरा जिल्लामा भएको हो । उहाँको अहिलेको ठेगाना भने घर नं ७४, आदर्शमार्ग धम्बोझी वडा नं.१, नेपालगन्ज बाँके हो । वि.स.२०४४ सालदखि गजल यात्रामा निस्कनु भएका गजलकार कोपिलाको सिर्जना विधाहरु गजल, मुक्तक, निबन्ध, कविता, कथा, समीक्षा र समसामयिक लेख आदि रहेको छन्। हालसम्म उहाँका उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु-गजल संग्रह_२०५९, व्यग्र चाँदनी -गजल संग्रह_२०६१, डुबे पनि डुब्दैन घाम -मुक्तक संग्रह_२०६२, आफ्नै छाल आफ्नै किनार -मुक्तक संग्रह_२०६५ र राग बसुन्धरा -गजल संग्रह_२०६६ आदी रहेका छन् भने अन्य केहि कृतिहरु सम्पादन समेत गरिसक्नु भएको छ ।
    कोपिला विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखक समेत हुनुहुन्छ । गजल विधालाई प्रमुख विषय बनाउर विभिन्न साहित्यिक संस्थामा संगग्न कोपिला कृषि विकास बैंक लि= खजुरा शाखा बाँकेमा कार्यरत कर्मचारी समेत हुनुहुन्छ । गजलको सेरोफेरोमा केन्द्रित रहेर उहाँसंग यस पत्रिकाका सम्पादक खेमराज गाउँलेले गर्नु भएको कुराकानीको सारः
नमस्कार, बडादशैं तथा तिहारको शुभकामना सहित गजल प्रधान पत्रिका गाउँलेमा तपाईलाई स्वागत छ । 
रोल्पाली गजलको नमस्कार मनपर्यो मलाई
तपाइको स्वाग सत्कार मनपर्या मलाई । न
आजभोलि तपाईका दिनहरु कसरी बित्दैछन् ?
पाइला पाइला गनेर दिन काट्दैछु अचेल
बिरही गजल भनेर दिन काट्दैछु अचेल ।
गजल लेख्ने प्रेरणा कसबाट पाउनु भयो ?
आफैले भोगेको परिवेश र वातावरणले प्रेरणा दियो
यौटा नागरिक हुनुको कर्तव्य र कारणले प्रेरणा दियो ।
तपाई गजल यात्रामा लाग्नु भएको कति भयो ?
साहित्यको यो अनुराग बाल्यकालदखिको हो
गजलको यात्रा भने चौआलिस सालदेखिको हो ।
गजल लेखनमा तपाईको यात्रा कहाँ पुग्यो ?
भावनसित लुकामारी खेल्ने रहर जारी छ
अक्षरको यात्रा र गजलको सफर जारी छ ।
तपाई गजल रचना कुन समयमा र कसरी गर्नुहुन्छ ?
भावनाका छाल उर्लिन खोजेपछि लेख्न बस्छु
मनको आवाजले कुर्लिन खोजेपछि लेख्न बस्छु ।
आखिर गजल के होऽतपाईको भनाईमा ?
मायाको कल्पना र मनको तर्कना हो गजल
शब्दको रचना र दिलको अर्चना हो गजल ।
मध्यपश्चिममा गजलको अवस्था कस्तो छ नी ?
फोक्सुण्डोजस्तै निर्मल छ राराजस्तै कञ्चन छ
यहाँका जीवन्त गजलमा विचारको मन्थन छ ।
गजलमा नयाँ पुस्ताको अवस्था कस्तो छ नि
?
दरिला हातहरु बोक्दै उठिरहेछ नयाँ पुस्ता
गजलको इतिहास रच्न जुटिरहेछ नयाँ पुस्ता ।
मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको अहिलको अहिलेको अवस्था कस्तो छ 
?
फूलले हानेर चट्टान गलाउने कोशिसमा छ
भीरपाखामा गजल फलाउने कोशिसमा छ ।
मोफसलमा रहेर गजल साधनामा तल्लिन हुनुहुन्छ तपाई । मोफसलमा बसेर गजल रचना गर्न कतिको गाह्रो छ 
?
गाउँघरमा भेटिने सुगन्ध राजधानीमा कहाँ
मोफसलको जस्तो आनन्द राजधानीमा कहाँ
सबैले भन्छन् यतिखेर गजलको बाढी आएको छ । बाढी त सुक्न पनि सक्छ एकदिन । त्यसैले बाढीलाई नदिमा रुपान्तरण गर्न के गर्नुपर्ला 
?
बाढी छिचोलेर किनारमा पुग्न पौडी खेल्नैपर्छ
गहिराईमा पुगेर मोती टिप्न पौडी खेल्नैपर्छ ।
गजललाई असल बनाउन के के कुरामा ध्यान दिनु आवश्यक छ 
?
अर्थले शब्दमा सौन्दर्य सजाउने कला चाहिन्छ
बिनाबाजा हृदयको धुन बजाउने कला चाहिन्छ ।
गजल यात्रामा लागेर के गुमाएँ र के पाएँ जस्तो लाग्छ तपाईलाई 
?
आफ्नो उर्वर समय र सारा उर्जा गुमाएँ
निधारमा केवल सन्तुष्टीको टीको लगाएँ ।
राम्रा गजलकारलाई सम्झनुपर्दा ककसलाई सम्झनुहुन्छ तपाई 
?
ज्ञानुवाकर मनु ब्राजाकी बूँद राना शीतल कादम्बिनी
राजेन्द्र थापा रुपक बनबासी मलाई मन पर्छन यिनी ।
यतिखेर बहरको चर्चा छ के हो बहर भनेको 
?
यो शास्त्रीय संरचना हो अक्षरको लहर हो
गजललाई लयमा ढाल्ने छन्द नै बहर हो ।
बहरमा गजल लेख्न रहर गर्ने गजलकारहरुलाई के भन्नुहुन्छ 
?
बहर त एउटा माध्यम हो विचार हुन्छ ठूलो
गजलको लागि स्वरुप होइन सार हुन्छ ठूलो ।
अन्त्यमा मैले सोध्न भूलेको र तपाईलाई भनूँ भनूँ लागेका केही कुरा छन् कि 
?
पहिलो भेटमै धेरै बोलें धेरै सोध्नु भो आभारी छु
अन्तरवार्तामा यसपटक कोपिला रोज्नु भो आभारी छु ।

गजलहर......

खगेन्द्र गिरि कोपिला
गरिबको झुपडीमा दशैं कहाँ हुन्छ ?
दुई छाक खाने चामल सधैं कहाँ हुन्छ
?

नेताको जातै यस्तो सत्तामा पुगेपछि,
चिल्लो गाडी अग्लो घर नभै कहाँ हुन्छ 
?

सुख दुखको घामछायाँ हो यो जिन्दगानी,
मानिसले सोचेजस्तो कठै कहाँ हुन्छ 
?

यो मिर्मिरेमै गर्छौ यति खुसीयाली,
वास्तविक उज्यालो त अझै कहाँ हुन्छ 
?

सामाजिक मर्यादामा बस्नु परेर न हो,
ब्रह्मचारी त बग्ने हाम्रो कहाँ हुन्छ 
?
नेपालगन्ज, बाँके

पुष्प अधिकारी अन्जली
म आत्मीयताको होली लिएर आउँदैछु
म सप्तरङ्गी भोली लिएर आउँदैछु ।

सप्तरङ्गी रङ्गहरुमा सजिएर बस्नु तिमी,
म रातो निलो हरियो चोली लिएर आउँदैछु ।

जीवन रङ्ग हो क्यानभासमा माया पोख्ने,
म मायाको रङ्गीन झोली लिएर आउँदैछु ।

सर्वाङ्ग भिज्छ भन्थ्यौ रङ्गीले बहानामा,
म सप्तरङ्गी खोली लिएर आउँदैछु ।

तिमी आऊ या नआऊ यो पुष्पसंग प्रिया,
म तिम्रै लागि रित्तो डोली लिएर आउँदैछु ।
चितवन

स्व इन्द्र यात्री
विवसता झेल्दै एक्लो परेको छ यो जुनी,
अचेल त आफूभित्रै मरेको छ यो जुनी ।

धुजा धुजा भएर आशा पूरै फाटेकोले,
दिनदिनै तल तल झरेको छ यो जुनी ।

सपनीमा ग्रहन लागेको धेरै भएकोले,
तर्सिएर अलि पर सरेको छ यो जुनी ।

घाउन नै घाउ भएकोले खाली कतै छैन
सधैं टन्किएर दुख्ने गरेको छ यो जुनी ।

भित्रभित्रै चोटहरु बेसरी पाकीकन
सिंगो जीउभरी व्यथा छरेको छ यो जुनी ।

आफ्नो यै छाती नै चिहान भई सकेकोले,
पीडैपीडा टनक्कै भरेको छ यो जुनी ।

मसंग नियतिले नै हिसाब मागेकोले,
आफैं भागेर नौखोली तरेको छ यो जुनी ।

आँखाबा६ पानी उभाई मन धोएको छु,
भावीले नै सबथोक हरेको छ यो जुनी ।
गैरीगाउँ ७, रोल्पा

स्व. मिलन उपहार पुन
जिन्दगीमा पानी पर्दा ओत लाग्ने घरै छैन
तिम्रै बाटो पर्खी बस्थें आउने फरि भरै छैन ।

मन मिल्छ भने फुर्सद मिलाऊ तिमी पनि
मिल्दैन त कुरी बस्ने मलाई करै छैन ।

हृदयमा बादल लागि आँखाबाट आँसु झर्दा
परेलीकै पाली छाँउथें तर यहाँ खरै छैन ।

निरमोहीले लात हानी विश्वासकै पर्खाल ढल्दा
जिन्दगीलाई उभ्याउने अब कुनै जरै छैन ।

घात सही बाँचिराछु धेरै मैले जुनीभरि
तिम्रो तीरले घाउ पार्ला भन्ने मलाई डरै छैन ।

कठपुतली बनाएर तिमीले दुनियाँलाई
नत्र भने तिम्रो पनि राम्रो यहाँ भरै छैन ।

विश्वासघाति निर्मोहीको पीडाहरु खात लाग्दा
तिम्ले दिएको यो उपहार झुण्ड्याउने लरै छैन ।
गैरीगाउँ, रोल्पा



Newer Post
Previous
This is the last post.

1 प्रतिक्रिया:

  1. गाउँलेभित्र रोल्पा जिल्लाका र वरपरका ८० वटा गजलहरु समाबेस छन् । विविध कारणले गर्द व्लगमा अपडेट गर्न सकिरहेको छैन । क्षमा चाहन्छु । खेमराज गाउँले/गाउँले मन

    ReplyDelete

Khemraj Gaunle / Khumel, Rolpa, Nepal